
भक्तपुर, जेठ २१ । आदर्श आजाद माध्यमिक विद्यालयको ६७ औँ तथा आदर्श आजाद कलेजको १८ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल ले वर्तमान सरकारको आर्थिक, शैक्षिक तथा वैदेशिक रोजगार नीतिको आलोचना गर्दै देशको स्वाधीनता, शिक्षा र उत्पादनमुखी विकासमा जोड दिए। उनले विद्यालय तथा कलेजहरूले देशभक्त, अनुशासित र योग्य नागरिक उत्पादनमा अझ महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।
वार्षिकोत्सवका अवसरमा ५१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो भने शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट २५० भन्दा बढी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो। साथै एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा रजनी जोशी ले भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्र बनाउने अभियानमा नगरपालिकाले काम गरिरहेको बताइन्। विद्यालयका प्राचार्य चक्रबहादुर चाकतु ले विद्यालयमा ८०१ विद्यार्थी अध्ययनरत रहेको र विभिन्न छात्रवृत्ति कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। कलेजका प्राचार्य श्रीकृष्ण किसी ले बीएड र बीबीएसमा १७९ विद्यार्थी अध्ययनरत रहेको तथा यस वर्ष बीएड चौथो वर्षमा शतप्रतिशत नतिजा प्राप्त भएको बताए।
कार्यक्रममा विद्यालय र कलेजको संयुक्त स्मारिका विमोचन गरिएको थियो भने विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम, नृत्य तथा एआई प्रविधिबाट तयार गरिएको स्वागत गीत प्रस्तुत गरेका थिए।













