News Portal

  • पशुपति रोडा तथा ढुङ्गा उद्योगविरुद्ध संघर्ष समिति गठन, आन्दोलनको चेतावनी

    दोलागिरि संवाददाता२०८३ जेठ १७
    ६५ पटक

    काभ्रे, नमोबुद्ध नगरपालिका–४ मा सञ्चालित पशुपति रोडा तथा ढुङ्गा उद्योग प्रालिविरुद्ध स्थानीयवासीले संघर्ष समिति गठन गर्दै आन्दोलनको घोषणा गरेका छन्। भ्रष्टाचार विरोधी अभियन्ता प्रेमध्वज लामाको पहलमा आयोजित भेलाले भीमनाथ उप्रेतीको अध्यक्षतामा सात सदस्यीय संघर्ष समिति गठन गरेको हो।
    स्थानीय बुद्धिजीवी, सामाजिक अगुवा तथा सरोकारवालाहरूको सहभागितामा सम्पन्न भेलाले उद्योगले विभिन्न अनियमितता तथा मापदण्डविपरीत गतिविधि सञ्चालन गरेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध संगठित संघर्ष अघि बढाउने निर्णय गरेको जनाएको छ।
    संघर्ष समितिका अनुसार उद्योगले प्राकृतिक रूपमा बगिरहेको खहरे खोलाको धार परिवर्तन गरी आफ्नो अनुकूल बनाएको छ। यसका साथै सार्वजनिक वन क्षेत्र अतिक्रमण गरी उद्योग विस्तार गरिएको आरोप पनि स्थानीयले लगाएका छन्। उद्योग सडक, खोला, वनजङ्गल तथा बस्तीबाट कायम गर्नुपर्ने न्यूनतम दूरीसम्बन्धी मापदण्डसमेत उल्लङ्घन गरेर सञ्चालन भइरहेको दाबी संघर्ष समितिको छ।
    स्थानीयवासीका अनुसार उद्योगको स्वामित्वमा करिब ११ रोपनी जग्गा भए पनि त्यसबाहेक वरपरका सार्वजनिक जग्गा प्रयोग तथा अतिक्रमण गरी उद्योग सञ्चालन गरिएको छ। उद्योगका कारण वातावरणीय प्रदूषण बढ्नुका साथै स्थानीय बासिन्दाको जनजीवन र प्राकृतिक स्रोत–साधनमा समेत नकारात्मक असर परेको उनीहरूको गुनासो छ।
    संघर्ष समितिले उद्योगका गतिविधिबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय, नमोबुद्ध नगरपालिका, वन कार्यालय तथा अन्य सरोकारवाला निकायहरूमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ। मागप्रति बेवास्ता गरिए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने समितिले चेतावनी दिएको छ।
    संघर्ष समितिका अगुवाहरूले सार्वजनिक सम्पत्ति, वन क्षेत्र तथा प्राकृतिक स्रोतको संरक्षण स्थानीय समुदायको साझा जिम्मेवारी भएकाले उद्योगबाट भएका भनिएका अनियमितताको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। साथै कानुन र वातावरणीय मापदण्डविपरीतका गतिविधि तत्काल रोक्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
    स्थानीय तहमा उद्योग सञ्चालनका नाममा प्राकृतिक स्रोतको दोहन, सार्वजनिक जग्गा अतिक्रमण तथा वातावरणीय मापदण्ड उल्लङ्घनका विषयमा पटक–पटक प्रश्न उठ्दै आएको अवस्थामा पशुपति रोडा तथा ढुङ्गा उद्योगविरुद्ध गठन भएको संघर्ष समितिले अब यस मुद्दालाई संगठित रूपमा अगाडि बढाउने जनाएको छ।

    प्रतिकृया दिनुहोस्