News Portal

  • गोल्डेन गेट इङ्ग्लिस स्कुलले गर्यों ४.० GPA सहित SEE २०८२ का सफल विद्यार्थीलाई सम्मान तथा बिदाइ

    दोलागिरि संवाददाता२०८३ जेठ १७
    ९५ पटक

    भक्तपुर, जेठ १६ — गोल्डेन गेट इङ्ग्लिस स्कुलले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूको सम्मान तथा बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। यस वर्ष विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट सफलता हासिल गर्दै ४.० GPA सम्म प्राप्त गर्न सफल भएका छन्।
    कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यक्रमको उद्घाटन गर्दै विद्यार्थीहरूको सफलतामा शिक्षक, अभिभावक र विद्यार्थी स्वयंको मेहनतको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले सफलता हासिल गर्नु मात्र पर्याप्त नभई जीवनमा आउने चुनौतीहरूको सामना गर्न सक्ने क्षमता पनि विकास गर्नुपर्नेमा जोड दिनुभयो।
    उहाँले शिक्षा केवल पैसा कमाउने माध्यम नभई असल, सभ्य र जिम्मेवार नागरिक बन्ने आधार भएको उल्लेख गर्दै व्यक्तिगत हितसँगै समाज र राष्ट्रप्रतिको दायित्वलाई पनि आत्मसात गर्नुपर्ने बताउनुभयो। विदेशमा उच्च शिक्षा हासिल गरे पनि प्राप्त ज्ञान, सीप र अनुभवलाई देश निर्माणमा प्रयोग गर्न स्वदेश फर्किनुपर्ने धारणा राख्दै उहाँले नेपालको विकास नेपाली युवाहरूको सक्रिय योगदानबाट मात्र सम्भव हुने बताउनुभयो।
    कार्यक्रमका विशेष अतिथि भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले आफूले विगतमा यस विद्यालयमा अध्यापन गर्ने अवसर पाएको स्मरण गर्दै विद्यालयसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउनुभयो। शिक्षण पेशालाई सबैभन्दा सम्मानित र सिर्जनशील पेशाका रूपमा उल्लेख गर्दै उहाँले शिक्षा नै व्यक्तित्व निर्माणको मूल आधार भएको धारणा व्यक्त गर्नुभयो।
    वडा नं. ६ का वडाध्यक्ष डा. हरिराम सुवालले विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै शिक्षा नै समाज र राष्ट्र रूपान्तरणको प्रमुख साधन भएको बताउनुभयो। कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले अनुशासन, लगनशीलता र निरन्तर मेहनतले जीवनमा सफलता प्राप्त गर्न सकिने उल्लेख गर्दै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिनुभयो।
    विद्यालयका प्रिन्सिपल सिङ्गबहादुर लामाले विद्यालयले स्थापना कालदेखि नै गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो। उहाँले यस वर्ष प्राप्त उत्कृष्ट नतिजा शिक्षक, विद्यार्थी र अभिभावकबीचको समन्वित प्रयास तथा निरन्तर मेहनतको परिणाम भएको उल्लेख गर्नुभयो।
    विद्यार्थीहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै ४.० GPA प्राप्त गर्ने विद्यार्थी रुबिशा मानन्धरले आफ्नो सफलतामा शिक्षकहरूको मार्गदर्शन, अभिभावकको प्रेरणा र निरन्तर परिश्रमको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले विद्यालयले प्रदान गरेको शैक्षिक वातावरणले आफूहरूलाई लक्ष्य प्राप्तिमा सहयोग पुर्‍याएको धारणा राख्नुभयो।
    कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो भने विद्यालयका शिक्षकहरूलाई पनि विशेष सम्मान गरिएको थियो। शिक्षक–अभिभावक संघका अध्यक्ष बिकेश मानन्धरले आफ्ना अनुभव सुनाउँदै विद्यार्थीहरूलाई उच्च शिक्षा र जीवनका आगामी यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो।
    विद्यालय व्यवस्थापन समिति अध्यक्ष अञ्जु चिपालु जोशीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक तथा विद्यालय परिवारप्रति आभार व्यक्त गर्नुभयो। साथै विद्यालय परिवारका तर्फबाट प्रमुख अतिथि सुनिल प्रजापति, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, वडाध्यक्ष डा. हरिराम सुवाल, कार्यपालिका सदस्य रोशनमैयाँ सुवाल तथा शिक्षक–अभिभावक संघका अध्यक्ष बिकेश मानन्धरप्रति विशेष धन्यवाद तथा कृतज्ञता व्यक्त गरिएको थियो।
    वि.सं. २०४३ सालदेखि सञ्चालनमा रहेको गोल्डेन गेट इङ्ग्लिस स्कुलले गुणस्तरीय तथा सर्वसुलभ शिक्षा प्रदान गर्दै आएको छ। यस वर्ष पनि उत्कृष्ट एसईई नतिजा हासिल गर्दै विद्यालयले भक्तपुर जिल्लामा आफ्नो शैक्षिक उत्कृष्टतालाई थप स्थापित गरेको जनाएको छ। विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासन र उत्कृष्ट शैक्षिक उपलब्धिको परम्परालाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्