News Portal

  • दोस्रो भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला सुरु,

    पहिलो दिनमै १५ हजारभन्दा बढीको सहभागिता

    दोलागिरि संवाददाता२०८३ जेठ १६
    ५४ पटक

    भक्तपुर, जेठ १६ । ‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन– विकसित तथा व्यावसायिक भक्तपुर हाम्रो चिन्तन’ भन्ने नारासहित भक्तपुरमा शुक्रबारदेखि दोस्रो भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला सुरु भएको छ। मेलाको पहिलो दिनमै १५ हजारभन्दा बढी उपभोक्ता तथा अवलोकनकर्ताले मेला अवलोकन गरेका छन्।
    भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भक्तपुर औद्योगिक क्षेत्र परिसरमा सुरु भएको दुईदिने मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलतासँग जोड्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। स्थानीय तहहरूले युवा स्वरोजगारमूलक तालिम कार्यक्रम सञ्चालनमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
    कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य रुकेश रञ्जितले भक्तपुरको कला, संस्कृति र ऐतिहासिक पहिचानलाई थप उचाइमा पुर्‍याउन यस्ता मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमार्फत जिल्लाको आर्थिक गतिविधिलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।
    मेलाको उद्देश्य भक्तपुरका मौलिक उत्पादन, हस्तकला सामग्री तथा स्थानीय स्रोत–साधनमा आधारित वस्तुहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार गर्नुका साथै उद्योग, व्यापार, कृषि, पर्यटन र संस्कृतिको समग्र विकासमा योगदान पुर्‍याउनु रहेको आयोजकले जनाएको छ।
    मेलाका संयोजक तथा सङ्घका कोषाध्यक्ष रञ्जित मारिखुका अनुसार दुई दिनसम्म सञ्चालन हुने मेलामा करिब ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। मेलामा मौलिक हस्तकला, कृषि उत्पादन, नेपाली हाते तथा तानका पोशाक, बालबालिकाका खेलौना, छालाजन्य सामग्री, गरगहना, सौन्दर्य सामग्री, मूर्ति तथा उपहार सामग्री, जुत्ता–चप्पल, रैथाने तथा अर्गानिक खाद्यवस्तुलगायतका ४८ वटा प्रदर्शनी कक्ष राखिएका छन्।
    मेलाले स्थानीय उत्पादनको प्रवर्द्धन, उद्यमशीलताको विकास तथा भक्तपुरको सांस्कृतिक र पर्यटन क्षेत्रलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

    प्रतिकृया दिनुहोस्