News Portal

  • महिनावारी स्वच्छता दिवसका अवसरमा ललितपुरमा बृहत् साइकल र्‍याली

    सुरक्षित महिनावारीको मुद्दा संसदमा लैजाने सांसद प्रभा ढकालको प्रतिबद्धता

    दोलागिरि संवाददाता२०८३ जेठ १४
    २८ पटक

    ललितपुर, १४ जेठ — बाह्रौँ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसका अवसरमा ललितपुरमा बृहत् साइकल र्‍याली सम्पन्न भएको छ। महिनावारी सुरक्षा, स्वच्छता तथा महिला हिंसा न्यूनीकरणका क्षेत्रमा क्रियाशील संस्था एक्स-पोज नेपाल को आयोजनामा भएको उक्त र्‍यालीमा सयौँ महिला तथा पुरुष साइकलयात्रीहरूको उत्साहजनक सहभागिता रहेको थियो।


    ललितपुरको मङ्गलबजारबाट सुरु भएको र्‍याली काठमाडौँको वसन्तपुर पुगेर पुनः मङ्गलबजारमै आएर समापन गरिएको थियो। आयोजकका अनुसार र्‍यालीमा करिब ४५० जना सहभागी भएका थिए, जसमध्ये करिब ८० प्रतिशत महिला थिए। संस्थाले विगत नौ वर्षदेखि निरन्तर रूपमा महिनावारी स्वच्छता र महिला स्वास्थ्यसम्बन्धी जनचेतनामूलक साइकल र्‍याली आयोजना गर्दै आएको जनाएको छ। नौ वर्षअघि सम्पन्न पहिलो र्‍यालीमा ७२ जना सहभागीमध्ये एक जना मात्र महिला रहेको स्मरण गर्दै यस वर्ष महिलाको उल्लेखनीय सहभागिताले सामाजिक चेतनामा सकारात्मक परिवर्तन आएको आयोजकको भनाइ छ।


    कार्यक्रममा एक्स-पोज नेपालका अध्यक्ष तथा ‘प्याड म्यान’का रूपमा परिचित ज्ञान महर्जन ले सुरक्षित महिनावारीसम्बन्धी ज्ञापनपत्र प्रस्तुत गर्दै सीमान्तकृत समुदायका महिला तथा किशोरीहरूको स्वास्थ्य र सुरक्षाका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले महिनावारीलाई अझै पनि धेरै ठाउँमा लज्जा र विभेदको विषय बनाइने गरिएको भन्दै यसविरुद्ध व्यापक सचेतना आवश्यक रहेको बताउनुभयो।
    त्यसैगरी राष्ट्रिय महिला आयोग की अध्यक्ष कृष्णाकुमारी वाइबा ले महिनावारी प्राकृतिक प्रक्रिया भएकाले यसलाई मर्यादित, सुरक्षित र सम्मानजनक बनाउन स्थानीय तथा सङ्घीय सरकारले विशेष प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।


    र्‍यालीको समापन समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य प्रभा ढकाल ले महिनावारीसम्बन्धी चेतनामा समाजमा सकारात्मक परिवर्तन आउन थालेको बताउनुभयो। उहाँले पहिले लुकाएर स्यानिटरी प्याड किन्नुपर्ने अवस्था रहेको स्मरण गर्दै अहिले पुरुष सदस्यहरूले समेत खुला रूपमा सहयोग गर्न थालेको उल्लेख गर्नुभयो। सुरक्षित महिनावारीसम्बन्धी ज्ञापनपत्र बुझ्दै उहाँले यस विषयलाई संसदमा उठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
    कार्यक्रममा ग्लोबल एक्सन नेपाल का अध्यक्ष विके श्रेष्ठ ले विगत नौ वर्षदेखि प्राकृतिक महिनावारी स्वास्थ्य र महिला हिंसाविरुद्ध निरन्तर पैरवी हुँदै आएको बताउँदै ज्ञापनपत्रमा उठाइएका विषयहरू आम नागरिकका वास्तविक पीडासँग जोडिएको उल्लेख गर्नुभयो। उहाँले ती मागहरूको शीघ्र कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो।
    उक्त कार्यक्रममा युनिसेफ नेपाल, ग्लोबल एक्सन नेपाल, च्यारिटी प्याड उद्योग, DWD, GIZ Nepal, Hunger तथा MHMPA Nepal ले सहयोग गरेका थिए। कार्यक्रमको सञ्चालन नवीना श्रेष्ठ ले गर्नुभएको थियो।

    प्रतिकृया दिनुहोस्