News Portal

  • बागमती सरकारले २ प्रतिशत ब्याजमा १५ लाखसम्म ऋण दिने तयारीमा छ : किरण थापा

    दोलागिरि संवाददाता२०८३ जेठ १४
    ३५ पटक

    काठमाडौं । बागमती प्रदेश सरकारले युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने उद्देश्यसहित सहुलियतपूर्ण ऋण कार्यक्रम ल्याउने तयारी गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत २ प्रतिशत ब्याजदरमा न्यूनतम १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने तयारी गरिएको बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले जानकारी दिएका छन् ।
    भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटलमा बुधबार आयोजित “ग्रान्ड ब्यूटी एक्स्पो” उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले प्राविधिक तथा सीपमूलक तालिम प्राप्त युवालाई उद्यमशीलतामा जोड्ने नीति सरकारले अघि सारेको बताएका हुन् । उनका अनुसार शैक्षिक योग्यता वा सीपमूलक तालिमको प्रमाणपत्रका आधारमा युवाले सहुलियतपूर्ण ऋण प्राप्त गर्न सक्ने व्यवस्था गरिनेछ ।
    मन्त्री थापाले सरकारले रोजगार खोज्नेभन्दा रोजगार सिर्जना गर्ने युवालाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिरहेको उल्लेख गरे । “युवाहरूलाई आत्मनिर्भर बनाउने र स्वरोजगारमूलक व्यवसाय विस्तार गर्ने उद्देश्यले सहुलियत ऋण कार्यक्रम ल्याउन लागिएको हो,” उनले बताए ।
    यसैगरी उनले बागमती प्रदेशका अस्पतालहरूमा आधुनिक तथा प्रविधिमैत्री सेवा विस्तार भइरहेको जानकारी दिए । स्वास्थ्य मन्त्रालयले हाल सिन्धुली अस्पताल, चौतारा अस्पताल, धादिङ अस्पताल तथा बकुलहर अस्पतालमा ‘पेपरलेस सेवा’ परीक्षणका रूपमा सुरु गरिसकेको र आगामी आर्थिक वर्षदेखि प्रदेशका सबै १३ वटा अस्पतालमा यो प्रणाली लागू गरिने उनले बताए ।
    उनका अनुसार पेपरलेस प्रणाली लागू भएपछि सेवा प्रवाह छिटो, सुरक्षित तथा व्यवस्थित बन्ने अपेक्षा गरिएको छ । साथै भक्तपुर अस्पताल, धादिङ अस्पताल, नुवाकोट अस्पताल, सिन्धुली अस्पताल र बकुलहर अस्पतालमा नर्सिङ शिक्षाको पढाइ सञ्चालन गरिने तयारी पनि भइरहेको मन्त्री थापाले जानकारी दिए ।
    युथ इको नेपालको आयोजनामा जारी उक्त एक्स्पोमा देशभरबाट करिब दुई हजार सौन्दर्य तथा साजसज्जा व्यवसायी, कलाकार, पेशाकर्मी तथा इच्छुक सहभागीहरूको उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ ।
    एक्स्पोको मुख्य आकर्षण भारतका चर्चित हेयर आर्टिस्ट जावेद हबिबको विशेष प्रशिक्षण कार्यक्रम रहेको आयोजकले जनाएको छ । आयोजक संस्थाका अध्यक्ष आकाश गजुरेलका अनुसार कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ ।

    प्रतिकृया दिनुहोस्