News Portal

  • समाजसेवी प्रेमध्वज लामा र लेखापढी व्यवसायी संघका अध्यक्ष राम राना सम्मानित

    दोलागिरि संवाददाता२०८३ बैशाख २६
    ३१ पटक

    २६ वैशाख २०८३ भक्तपुर । समाजसेवी तथा भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज लामा र भक्तपुर लेखापढी व्यवसायी संघका अध्यक्ष राम राना शनिबार भक्तपुरमा सम्मानित भएका छन् । बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला केसी नेपाल ले उनीहरूलाई सम्मान गरेकी हुन् ।
    स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्यसमेत रहेका लामालाई समाज हितमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रका व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो ।
    विद्या आर्जन सितेरियो कराते शाखा र दधिकोट दोजोद्वारा आयोजित प्रथम खुल्ला कराते प्रतियोगिताको अवसरमा सम्मान कार्यक्रम आयोजना गरिएको हो । सूर्यबहादुर तामाङको सभापतित्वमा सेराटोन ब्यांक्वेटमा सम्पन्न कार्यक्रममा खेलकुद तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।


    कार्यक्रमकी प्रमुख अतिथि मन्त्री उर्मिला केसी नेपालले उद्घाटन सत्रलाई सम्बोधन गर्दै खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको मनोबल उच्च राख्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् । उनले अनुशासित र स्वस्थ समाज निर्माणका लागि खेलकुद महत्वपूर्ण माध्यम भएको धारणा व्यक्त गरिन् ।
    कार्यक्रममा दावा गुरुङ, प्रकाशमोहन धौभडेल, महेश रञ्जित, १३औँ सागका दोहोरो स्वर्ण विजेता तथा राष्ट्रिय टिम प्रशिक्षक मच्छेकाजी श्रेष्ठ, एमाले नेतृ रञ्जिता लामा लगायतको सहभागिता रहेको थियो ।
    त्यसैगरी मिस तामाङ २०२५ साम्राज्ञी लामा, समाजसेवी भावना लामा, सञ्जिवनी तामाङ, पत्रकार अनिल मल्ल ठकुरीलगायत अतिथिहरूको पनि उपस्थिति रहेको थियो ।
    वडा अध्यक्ष विपिन राना तथा कराते प्रशिक्षक पुरुषोत्तम पोखरेलले खेलकुदले अनुशासित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । स्थानीय स्तरमा मार्सल आर्ट्सको प्रवर्द्धन तथा नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्