News Portal

  • सूर्यविनायक मेयर कप फुट्सलको उपाधि पाण्डुबजार एफसीलाई

    दोलागिरि संवाददाता२०८३ बैशाख २६
    ३७ पटक

    २६ वैशाख २०८३ । भक्तपुर । सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समिति द्वारा आयोजित “सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता–२०८३” अन्तर्गत आज सम्पन्न सेमिफाइनल तथा फाइनल खेलमा पाण्डुबजार फुटबल क्लबले उपाधि जित्न सफल भएको छ।
    प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा पाण्डुबजार फुटबल क्लब ले भविष्य फाउन्डेसन लाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो। दोस्रो सेमिफाइनल खेलमा हेल्दी फुट्सल ले सूर्यविनायक–१ लाई ३–१ ले हराउँदै फाइनल यात्रा तय गरेको थियो।
    तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धात्मक खेलमा भविष्य फाउन्डेसनले सूर्यविनायक–१ लाई ६–२ गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भयो।
    फाइनल खेलमा पाण्डुबजार फुटबल क्लब र हेल्दी फुट्सलबीच कडा प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा पाण्डुबजार एफसीले हेल्दी फुट्सललाई २–१ ले पराजित गर्दै प्रतियोगिताको उपाधि आफ्नो नाममा पार्न सफल भयो।
    प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीको उपाधि निर्विक थापाले प्राप्त गरेका छन् भने उत्कृष्ट गोलकिपरतर्फ सबिन जोशी श्रेष्ठ र उच्च गोलकर्तातर्फ विवेक कवाङ सम्मानित भएका छन्।
    प्रतियोगितामा प्रथम हुने टोलीले रु. ६० हजार, द्वितीय हुने टोलीले रु. ३० हजार, तृतीय हुने टोलीले रु. २० हजार तथा सान्त्वना पुरस्कारस्वरूप रु. १० हजार प्राप्त गरेका छन्। व्यक्तिगत विधातर्फका विजेताहरूलाई जनही रु. १० हजार प्रदान गरिएको आयोजकले जनाएको छ।
    यस अवसरमा राष्ट्रिय फुट्सल खेलाडी अन्जली मचामसी लाई पनि विशेष सम्मान गरिएको थियो।
    आयोजक समितिले प्रतियोगिता सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण पत्रकार, सुरक्षाकर्मी तथा नगर प्रहरीप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै विजेता तथा सहभागी सम्पूर्ण टोलीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

    प्रतिकृया दिनुहोस्