News Portal

  • काठमाडौँमा श्रमिक दिवसमा कविता वाचन, शोषणविरुद्ध साहित्यिक प्रतिवाद

    दोलागिरि संवाददाता२०८३ बैशाख २०
    १८ पटक

    काठमाडौँ, १९ वैशाख २०८३
    अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौँको कलङ्कीस्थित जागरण एकेडेमीमा ‘श्रम–श्रमिक विशेष कविता वाचन कार्यक्रम–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। ‘वर्तमान कविता समूह’ र ‘रातो घर फाउन्डेसन’को संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा दुई दर्जनभन्दा बढी कविहरूले श्रमिक जीवनका यथार्थ, शोषण र संघर्षका विविध आयामलाई कवितामार्फत प्रस्तुत गरेका थिए।
    कार्यक्रमको सुरुवात वरिष्ठ कवि श्यामलले ‘फरकफरक लोकतन्त्र’ तथा ‘पित्तलको पिकदानी’ कविताबाट गर्दै श्रमिकमाथि हुने राजनीतिक उपयोग र व्यवस्थागत शोषणप्रति तीखा प्रश्न उठाए। त्यसपछि अमर आकाश, चाचु, रामगोपाल आशुतोष, कञ्चन गजमेर, मिथोच, अभय श्रेष्ठ, लुमन्ती चित्रकार लगायतका कविहरूले श्रम, अभाव, स्वाभिमान र जीवन संघर्षका गहिरा अनुभूतिहरू प्रस्तुत गरे।
    कविहरूले श्रमिक आमाको प्रतीक्षामा रहेका बालबालिकाको भोक, दैनिक श्रमको अवमूल्यन, आर्थिक बोझ, पुस्तौंदेखिको अभाव र श्रमको वास्तविक मूल्य जस्ता विषयलाई आफ्नो कवितामा सशक्त रूपमा अभिव्यक्त गरेका थिए। कार्यक्रममा वैदेशिक रोजगारीको पीडा, स्वास्थ्य सेवाको अभाव, बालश्रम, सामाजिक विभेद र राज्यको उपेक्षाजस्ता मुद्दाहरू पनि उठाइएका थिए।
    त्यस्तै, विभिन्न कविताहरूले श्रमिकलाई समाजको वास्तविक निर्माणकर्ता र नायकका रूपमा चित्रित गर्दै उनीहरूको सम्मान, अधिकार र पहिचान सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए। कविहरूले साहित्यलाई सामाजिक परिवर्तनको माध्यमका रूपमा प्रयोग गर्दै अन्याय र शोषणविरुद्ध आवाज उठाउनुपर्ने सन्देश दिएका थिए।
    कार्यक्रमको समापन कवि विश्व सिग्देलले ‘जुस पसलमा’ कविता वाचन गर्दै गरेका थिए। उक्त कविताले व्यवस्थाले कसरी श्रमिकको श्रमलाई निचोरेर उनीहरूलाई खाली हात पार्ने गर्छ भन्ने यथार्थलाई मार्मिक रूपमा प्रस्तुत गर्‍यो।
    समापन मन्तव्यमा सिग्देलले यस्ता साहित्यिक कार्यक्रमहरूले समाजमा चेतना र संवेदनशीलता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए। आयोजकका अनुसार, कार्यक्रमले श्रमको सम्मान, श्रमिकको अधिकार र सामाजिक न्यायको पक्षमा सशक्त साहित्यिक ऐक्यबद्धता प्रस्तुत गरेको छ।

    प्रतिकृया दिनुहोस्