News Portal

  • भक्तपुरमा बुद्ध जयन्तीको अवसरमा मुठीदान कार्यक्रम सम्पन्न

    दोलागिरि संवाददाता२०८३ बैशाख १७
    १३ पटक

    भक्तपुर — एभरेस्ट इङ्लिस स्कुल, भक्तपुर–२ मिबाछेंमा बुद्ध जयन्ती को अवसरमा मुठीदान कार्यक्रम भव्य तथा भावपूर्ण रूपमा सम्पन्न भएको छ। वि.सं. २०७३ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको उक्त कार्यक्रम यस वर्ष पनि विशेष उत्साहका साथ आयोजना गरिएको हो।


    कार्यक्रममा मुनिविहार का भिक्षु तथा श्रामणेरहरूको गरिमामय उपस्थिति रहेको थियो। महागुरु, गुरु तथा श्रामणेर गरी २९ जना अतिथिहरू र ६ जना सेवक–सेविकाहरूको आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
    बुद्धवाणी, शील प्रार्थना तथा धम्मोपदेशले विद्यालय परिसरलाई शान्त र करुणामय वातावरणमा रूपान्तरण गरेको सहभागीहरूले बताएका छन्। भिक्षुहरूको प्रत्यक्ष उपस्थितिले कार्यक्रमलाई थप प्रभावशाली बनाएको थियो।


    कार्यक्रमका प्रमुख वक्ता तथा विद्यालयका संस्थापक प्रिन्सिपल भक्तराज भण्डारीले बालबालिकामा दान, सेवा र संवेदनशीलताको भावना विकास गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै “एकजनाले दिए मुठी, धेरैले दिए मुरी” भन्ने सन्देशमार्फत सानो प्रयासले पनि ठूलो परिवर्तन सम्भव हुने बताउनुभयो।
    त्यसैगरी भक्तपुर मुनिविहार का तर्फबाट विपस्वी महास्थाविरसहित गुरुहरूले बुद्ध दर्शनसम्बन्धी प्रेरणादायी धम्मोपदेश प्रस्तुत गर्नुभएको थियो।


    कार्यक्रमबाट संकलित रु. २०,९७० नगदसहित चामल, बिस्कुट, साबुन, दाल, चिउरा, नुन, कापी, कलम, पेन्सिल तथा फलफूललगायतका सामग्रीहरू भक्तपुर मुनिविहार लाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।


    कार्यक्रमले विद्यार्थीहरूमा दान र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास रहेको छ।

    प्रतिकृया दिनुहोस्