
भक्तपुर, वैशाख १५ — नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा सेवा विस्तारका महत्वपूर्ण योजनाहरू सार्वजनिक गरेको छ। अस्पतालले निकट भविष्यमा न्युरो सर्जरी सेवा पूर्ण रूपमा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

बढ्दो सवारी दुर्घटना र त्यसबाट हुने जटिल स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै न्युरो सर्जरी सेवा विस्तार गर्न लागिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मध्यपुर थिमी नगरपालिकाका कार्यवाहक नगर प्रमुख विजयकृष्ण श्रेष्ठले अस्पतालले हेमोडायलाइसिस सेवा पनि थप विस्तार गर्ने जानकारी दिए।
उनका अनुसार, अस्पतालको सेवा स्तरोन्नतिका लागि कोरियाली सहयोगमा करिब १ अर्ब २६ करोड रुपैयाँ लागतमा नयाँ भवन निर्माण कार्य भइरहेको छ। उनले अस्पताललाई नगरपालिकाबाट सञ्चालन भएका अस्पतालमध्ये उत्कृष्ट बनाउने लक्ष्य रहेको बताए।

प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले केवल औपचारिक शुभकामनाले मात्र स्वास्थ्य संस्थाको विकास सम्भव नहुने बताउँदै सेवाको गुणस्तर र छिटो उपचार प्रणालीमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

अस्पतालका कार्यकारी निर्देशक डा. दिपेन्द्र कुमार रौशनले अस्पतालले अब २४ सै घण्टा रक्तसञ्चार सेवा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए। साथै, कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा सेमिनार सञ्चालन गरिने उनले बताए।
अस्पतालले आगामी दिनमा आधुनिक प्रविधिसहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै स्थानीय नागरिकको भरोसाको केन्द्र बन्ने लक्ष्य लिएको जनाएको छ।









