
काठमाडौं, वैशाख १४ — नयाँ वर्ष २०८३ को अवसर पारेर गोकर्णेश्वरमा बृहत् औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव आयोजना हुने भएको छ। औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा “तेश्रो गोकर्णेश्वर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८३” वैशाख २४ गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
गोकर्णेश्वर नगरपालिका–४ स्थित हनुमान चोकमा सञ्चालन हुने महोत्सवको मुख्य उद्देश्य उपभोक्तालाई एकै स्थानबाट दैनिक उपभोग्य सामग्री सर्वसुलभ मूल्यमा उपलब्ध गराउनुका साथै स्थानीय प्रतिभाको पहिचान र प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ।
महोत्सवमा औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, अटोमोबाइल तथा विद्युतीय उपकरण, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्री, लत्ताकपडा तथा भाँडाकुँडाको प्रदर्शनी तथा बिक्री वितरण गरिनेछ। साथै पर्यटनसँग सम्बन्धित गतिविधिहरू पनि समेटिने आयोजकले जानकारी दिएको छ।
करिब दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा एशियाकै उत्कृष्ट बाल उद्यान, रोटेपिङ, ड्रागन, ट्रेन, रेन्जर, नाउ लगायत बालबालिकाका खेल सामग्री रहनेछन्। विभिन्न परिकारसहितको खाना महोत्सव, दैनिक रूपमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति तथा ‘गोकर्णेश्वर डान्स आइडल’ प्रतियोगिता पनि आयोजना गरिनेछ। उक्त प्रतियोगिताको संयोजन शिखर छहारी सांस्कृतिक कला केन्द्रले गर्नेछ।
महोत्सवको आकर्षणका रूपमा लन्डन ब्रिज शैलीको मुख्य प्रवेशद्वार निर्माण गरिनेछ। कुल १२० स्टल रहने महोत्सवमा स्थानीय उत्पादन तथा महिला उद्यमीका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ।
महोत्सवको प्रवेश शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ। विद्यार्थी सहुलियतका लागि परिचयपत्र अनिवार्य गरिएको छ भने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेश दिइनेछ। जेठ ८, ९ र १० गते विशेष कन्सर्ट आयोजना गरिने र ती दिन प्रवेश शुल्कमा परिवर्तन हुन सक्ने आयोजकले जनाएको छ।
आयोजकले महोत्सवलाई सभ्य र भव्य रूपमा सफल बनाउन सञ्चारकर्मी तथा सर्वसाधारणलाई सहयोग गर्न अनुरोध गरेको छ।









