News Portal

  • आफ्ना नागरिकलाई वास–गाँसको सुनिश्चितता गर झुप्रा भत्काउनु आपराधिक काम हो : विप्लव

    दोलागिरि संवाददाता२०८३ बैशाख ११
    २१६ पटक

    काठमाडौं । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सुकुम्बासी बस्तीमाथि सरकारले गरिरहेको जबर्जस्ती हटाउने कार्यको कडा विरोध गरेको छ।

    पार्टीका महासचिव विप्लवले जारी गरेको धारणा अनुसार, “मान्छेको पहिलो आवश्यकता वास र गाँस हो, र राज्यको पहिलो दायित्व आफ्ना नागरिकलाई वास–गाँसको सुनिश्चितता गर्नु हो।” उनले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई वैकल्पिक व्यवस्था नगरी झुप्रा भत्काउनु अमानवीय, अनैतिक र आपराधिक कार्य भएको बताएका छन्।

    धारणामा भनिएको छ कि वास्तविक सुकुम्बासीलाई पहिचान गरेर बसोबासको स्थायी आधार दिनुपर्ने राज्यको कर्तव्य हो। तर त्यसको सट्टा डोजर प्रयोग गरी गरिब जनताको आश्रय नै खोस्ने कार्यले सरकारप्रति जनआक्रोश बढ्दै गएको उल्लेख गरिएको छ।
    विप्लवले चेतावनी दिँदै भनेका छन्, “झुप्रा तोड्ने कार्य तत्काल रोकियोस्, वास्तविक सुकुम्बासीको पहिचान गरी उचित बसोबासको व्यवस्था गरियोस्। अन्यथा संघर्षको विकल्प रहने छैन।”
    पार्टीले सरकारको पछिल्लो कदमलाई जनविरोधी कदमको संज्ञा दिँदै सुकुम्बासी बस्तीमाथि भएको ज्यादतीको विरुद्ध सशक्त आन्दोलनको संकेत समेत गरेको छ।
    यस घटनापछि सुकुम्बासी बस्तीहरूमा त्रासको वातावरण फैलिएको छ भने विभिन्न राजनीतिक तथा सामाजिक संघ–संस्थाहरूले पनि सरकारलाई मानवीय दृष्टिकोण अपनाउन आग्रह गरेका छन्।

    प्रतिकृया दिनुहोस्