News Portal

  • मध्यपुरथिमिमा सुथसिया (बिहानी) जात्रा भव्य रूपमा सम्पन्न

    दोलागिरि संवाददाता२०८३ बैशाख २
    ३३ पटक

    भक्तपुर, बैशाख २, २०८३ — मध्यपुर थिमिका बासिन्दाले परम्परागत सुथसिया अर्थात् बिहानीको जात्रा आज बिहानैदेखि हर्षोल्लासका साथ मनाएका छन्। बिस्का जात्राको अवसरमा आयोजना हुने यस जात्रामा स्थानीयवासीहरू सिन्दुर खेल्दै, नाच्दै र बाजागाजासहित सहभागी बनेका थिए।

    बिहानैदेखि टोल–टोलका देवीदेवताका खट बोकेर निकालिएको जात्रामा बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय उपस्थिति देखिएको थियो। हातहातमा चिराग बालेर अघि बढेका पमाहरूको समूह, त्यसपछि धिमे र मुस्या बाजाको तालमा झुम्दै खट बोकेका जात्रालुहरूले वातावरणलाई पूर्णतः उत्सवमय बनाएका थिए।


    जात्राको मुख्य आकर्षणका रूपमा विभिन्न स्थानबाट ल्याइएका देवीदेवताका खटलाई बालकुमारी मन्दिर परिसरमा एकत्रित गरी परिक्रमा गराइएको थियो। परम्पराअनुसार यस जात्रामा पहिले ३२ वटा खट सहभागी हुने गरे पनि पछिल्ला वर्षहरूमा २६ वटा खट मात्र सहभागी हुने गरेका छन्।

    जात्रा सुरु हुनु अघि बालकुमारी, कालिका (बालाखु), विष्णुवीर, दक्षिणबाराही र सिद्धिकाली लगायतका देवीदेवताका खटहरू मन्दिरमा भेला गरिन्छन्। सिद्धिकालीको खट आफ्ना गणसहित बालकुमारी परिसरमा प्रवेश गरेपछि जात्राको औपचारिक सुरुवात हुने परम्परा रहिआएको छ। परम्पराअनुसार नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालिएपछि जात्रा अगाडि बढाइन्छ। त्यसक्रममा दिगुटोलस्थित देवता घरको परिक्रमा गरिँदै अन्य देवीदेवताका खटहरू समेत समावेश गरिन्छन्।


    जात्रा अवधिभर प्रत्येक चोक, चौबाटो र घर–घरमा पुगेका खटलाई स्थानीयवासीहरूले झ्याल, कौसी र छतबाट फूल र सिन्दुर छरेर स्वागत गर्ने परम्परा रहेको छ। धिमे, काँया र भुस्या बाजाको तालमा सिन्दुर खेल्दै रमाइलो गर्ने भएकाले पछिल्ला वर्षहरूमा यसलाई “सिन्दुर जात्रा” पनि भन्न थालिएको छ।

    थिमि क्षेत्रमा मात्रै नभई नगदेश, बोडे र टिगनीमा समेत छुट्टाछुट्टै रूपमा खटजात्रा र सिन्दुर जात्रा मनाइने गरिएको छ। बोडेमा भने दिउँसो जिब्रो छेड्ने विशेष जात्राको पनि आयोजना हुने गर्दछ।
    बिहानै सुरु भएको सुथसिया जात्रा मध्याह्नसम्म चल्ने परम्परा रहेको छ। परम्परा, संस्कार र सामूहिक उत्साहको अनुपम संगमका रूपमा रहेको यो जात्राले स्थानीय सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै आएको छ।

    प्रतिकृया दिनुहोस्