
भक्तपुर। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट उपलब्धि हासिल गर्दै आएको भक्तपुरको प्रतिष्ठित शैक्षिक संस्था मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा “सम्मान तथा प्रतिभा प्रस्तुतीकरण कार्यक्रम–२०८२” तथा पूर्वप्राथमिक तहको दीक्षान्त समारोह चैत्र २८ गते भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमको सुरुवात सबैभन्दा साना प्ले–ग्रुप कक्षाका दुई जना विद्यार्थीले विरुवामा जल अर्पण गरी औपचारिक उद्घाटन गरेपछि कार्यक्रमले फरक र आकर्षक रूप लिएको थियो। परम्परागत रूपमा प्रमुख अतिथि आमन्त्रण गर्ने चलनलाई तोड्दै गरिएको उक्त कार्यक्रमप्रति अभिभावकहरूले खुलेर प्रशंसा व्यक्त गरेका थिए।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयको विगतको उपलब्धि र आगामी योजनाबारे प्रकाश पार्दै मदरल्याण्ड स्कुललाई उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ सुविधा सम्पन्न भौतिक पूर्वाधार निर्माण कार्य अगाडि बढाइएको जानकारी दिनुभयो। उहाँले विद्यालयले विद्यार्थीहरूको चौतर्फी विकासका लागि विविध सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै २१ वर्षको सफल यात्रामा अभिभावकहरूको महत्वपूर्ण योगदान रहेको भन्दै कृतज्ञता व्यक्त गर्नुभयो।
खड्काका अनुसार विद्यालयमा प्रि–स्कुल तहमा पूर्ण रूपमा पाठ्यपुस्तक–मुक्त शिक्षण प्रणाली लागू गरिएको, स्कुल हेल्थ नर्सको व्यवस्था गरिएको, प्रविधिमैत्री शिक्षण प्रणाली विकास गरिएको तथा विद्यार्थीहरूको रुचिअनुसार खेलकुद र व्यक्तित्व विकासका कार्यक्रम सञ्चालन गरिँदै आएको छ।
कार्यक्रममा शैक्षिक वर्ष २०८२ मा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। मदरल्याण्ड स्कुलका तर्फबाट पालिका, जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्न सफल ५६ जना विद्यार्थीलाई विशेष सम्मान गरिएको थियो। साथै, वर्षभरि विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने १५ जना विद्यार्थी तथा शिक्षकहरूलाई पनि सम्मानित गरिएको थियो।
त्यसैगरी, कक्षागत रूपमा उत्कृष्ट जिपिए ल्याउने तथा स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो भने प्रि–स्कुलदेखि कक्षा ३ सम्म स्तरोन्नति भएका सबै विद्यार्थीहरूलाई कक्षा उक्लिएको सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा यूकेजी तहका विद्यार्थीहरूको दीक्षान्त समारोह पनि सम्पन्न गरिएको थियो। सो अवसरमा ईसिडी विशेषज्ञ तथा प्रि–स्कुल को–अर्डिनेटर सुमित्रा राणामगरले विद्यालयमा मन्टेश्वरी तथा ईसिडी प्रणालीअनुसार शिक्षण गरिँदै आएको जानकारी दिनुभयो। त्यस्तै, एकेडेमिक को–अर्डिनेटर धारणा स्यान्दिल्य (काफ्ले) ले आगामी शैक्षिक सत्र २०८३ मा लागू गरिने आन्तरिक मूल्यांकन प्रणालीबारे जानकारी गराउनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले नेपाली मौलिक संस्कृति झल्कने नृत्य, गीत, नाटक तथा विविध प्रतिभा प्रस्तुतिहरू प्रस्तुत गरेका थिए। कार्यक्रमको निर्देशन विद्यालयकी एक्ज्यूकेटिभ हेड शर्मिला देउजाले गर्नुभएको थियो भने सञ्चालन शिक्षक शृष्टि कासुलाले गर्नुभएको थियो।

कार्यक्रमले विद्यालयको शैक्षिक उत्कृष्टता मात्र नभई विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासप्रतिको प्रतिबद्धतालाई समेत उजागर गरेको थियो।










