
२०८२ माघ १० काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले “पुराना दल गलत भएकाले नयाँ दल चाहिन्छ” भन्ने नारा क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्रै भएको बताएका छन्।
आइतबार पार्टीद्वारा आयोजित निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले राजनीतिक वृत्तमा फैलाइएको नयाँ–पुराना दलको बहस वास्तविक समस्याबाट ध्यान हटाउने प्रयास मात्रै भएको स्पष्ट पारे।
महासचिव विप्लव सीले भने,अहिले लागिरहेको ‘पुराना दल गलत, नयाँ दल चाहिन्छ’ भन्ने नारा क्रान्तिकारी नारा होइन। यो जनतालाई भ्रमित पार्ने नारा हो। यहाँ समस्या दलसँग होइन, जनताले चाहेको त सत्ता हो आफ्नो सेवा गर्ने, आफ्नो पक्षमा निर्णय गर्ने, न्यायपूर्ण ढंगले फैसला लिने सत्ता।
उनले अहिले सत्ताको वास्तविक बहस ओझेल पार्न बाहिरबाट नयाँ र पुराना दलको हल्लाखल्ला फैलाइएको दाबी गर्दै त्यसमा कुनै सत्यता नरहेको बताए। नयाँ दलप्रति जनतामा देखिएको आशा केही हदसम्म पुराना दलहरूको असफलताबाट जन्मिएको स्वीकार गरे पनि पुरानै राज्यसत्ता कायम रहँदासम्म नयाँ दल आएर मात्रै समस्या समाधान नहुने उनको ठोकुवा थियो। महासचिव विप्लव सीले भने, पुराना दलहरू कामै नलाग्ने गरी खत्तम भए, भ्रष्टाचार र विकृति जन्मियो, जनताको लुटपाट भयो, देश राष्ट्रघाततर्फ धकेलियो भन्ने कुरा एक तहसम्म मिल्छ। तर नयाँ दल आयो भन्दैमा यही सत्ता संरचना रहेसम्म सबै ठिक हुन्छ भन्ने कुरा सत्य होइन।
उनले पुरानो सत्ता संरचना र चरित्र बदल्न सक्ने स्पष्ट दृष्टिकोण भएका नेताको आवश्यकता औँल्याउँदै आफूलाई नयाँ भन्ने कतिपय शक्तिबाट पनि त्यो परिवर्तनकारी दृष्टिकोण नदेखिएको बताए। महासचिव विप्लव सीले पुरानो सत्तालाई तोडेर जनताको सत्ता निर्माण गर्न सक्ने शक्ति नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मात्रै भएको दाबी गर्दै जनतामाझ यो यथार्थ स्पष्ट रूपमा पुर्याउन पार्टी पंक्तिलाई निर्देशन दिए।










