
काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भौगोलिक एकीकरण मात्र पर्याप्त नहुने भन्दै राजनीतिक, आर्थिक, भाषिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा एकीकृत नेपाल निर्माण आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै महासचिव विप्लवले पृथ्वीनारायण शाहले भौगोलिक रूपमा नेपाल निर्माणको प्रक्रिया अघि बढाए पनि आजको सन्दर्भमा त्यसलाई पूर्णता दिन गहिरो संरचनात्मक एकीकरण अनिवार्य भएको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार राज्यका सबै तह र संरचनामा समानता र सहभागिता सुनिश्चित नगरी वास्तविक राष्ट्रिय एकता सम्भव छैन।
महासचिव विप्लवले पार्टीको प्रस्तावका रूपमा अग्राधिकार सहितको समाजवादी संघीयता अघि सार्दै प्रतिनिधि सभा पूर्ण समानुपातिक प्रणालीमा आधारित हुनुपर्ने स्पष्ट पार्नुभएको छ। साथै कर्मचारी प्रशासन, न्यायालय, सुरक्षा निकाय र आर्थिक क्षेत्रमा समेत समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ।
उहाँले नयाँ भूमि व्यवस्था लागू गर्दै शिक्षा, रोजगारी र उपचारलाई सबै नागरिकको सुनिश्चित अधिकारका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। यस्ता व्यवस्थाबाट मात्रै नेपाल साँच्चिकै एकीकृत, स्वाधीन र न्यायपूर्ण राष्ट्र बन्न सक्ने उहाँको भनाइ छ।
महासचिव विप्लवले आउँदो निर्वाचनलाई यिनै एजेन्डा स्थापित गर्ने अवसरका रूपमा सदुपयोग गर्न आग्रह गर्दै परिवर्तनका पक्षधर शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा समेत व्यक्त गर्नुभएको छ।











