
२०८२ पुस २१ भक्तपुर ।
देश गम्भीर राजनीतिक मोडमा उभिएको निष्कर्ष निकाल्दै नेपाली कांग्रेस भक्तपुरले पार्टीभित्र नेतृत्व संकट गहिरिँदै गएको बताएको छ। वर्तमान परिस्थितिमा पार्टीलाई स्पष्ट राजनीतिक दिशा दिन नियमित महाधिवेशन अविलम्ब गर्नुपर्ने मागसहित कांग्रेस भक्तपुरले औपचारिक विज्ञप्ति जारी गरेको हो।
विज्ञप्तिमा नेपाली कांग्रेसले लोकतन्त्र, संविधान र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै आएको ऐतिहासिक भूमिकाको स्मरण गराउँदै पछिल्लो समय संवैधानिक सर्वोच्चतामाथि चुनौती बढ्दै गएको उल्लेख गरिएको छ। पार्टी नेतृत्व कमजोर हुँदा बाह्य तथा आन्तरिक शक्तिहरू सक्रिय बन्दै गएको आरोपसमेत कांग्रेस भक्तपुरले लगाएको छ।
देश निर्वाचनको तयारीतर्फ उन्मुख भइरहँदा राजनीतिक दलहरूभित्र देखिएको संगठनात्मक अन्योल र नेतृत्वहीनता चिन्ताजनक रहेको विज्ञप्तिमा उल्लेख छ। पार्टीभित्र विचार र मतलाई एकीकृत गर्दै बलियो नेतृत्व स्थापित गर्न महाधिवेशन अपरिहार्य भएको ठहर कांग्रेस भक्तपुरको छ।
कांग्रेस भक्तपुरले पार्टी विधान २०१७ (संशोधन तथा परिमार्जनसहित) अनुसार नियमित महाधिवेशन तुरुन्त बोलाउन केन्द्रीय नेतृत्व, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूलाई आग्रह गरेको छ।विज्ञप्तिमा स्पष्ट रूपमा भनिएको छ।
“यो परिस्थितिमा गरिने कुनै पनि गतिविधिले संविधान र लोकतन्त्रलाई कमजोर पार्ने कार्यलाई प्रोत्साहन गर्नु हुँदैन।”
उक्त विज्ञप्तिमा भक्तपुरका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा स्थानीय नेताहरूको सामूहिक हस्ताक्षर रहेको जनाइएको छ।











