News Portal

  • सप्तकोशी किनारमै सामुद्रिक पर्यटनको मज्जा, भारतबाट समेत पर्यटकको भीड

    सप्तकोशी नदी किनार अब सामुद्रिक पर्यटनको अनुभूति दिलाउने नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ।

    दोलागिरि संवाददाता२०८२ पौष १८
    ३८ पटक

    सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा पर्ने सप्तकोशी किनारले समुद्रको आभास दिने वातावरण सिर्जना गरेपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण उल्लेख्य रूपमा बढेको छ।

    हाल उक्त क्षेत्र ‘ह्याप्पील्यान्ड’ र ‘बोराबाँध’ नामले परिचित छ। फराकिलो नदी तट, समुद्रझैं फैलिएको पानीको दृश्य, उदाउँदो सूर्यको मनोरम दृश्यावलोकन, बोटिङ, चारपांग्रे एटीभी बाइक राइड जस्ता मनोरञ्जनात्मक गतिविधि यहाँका मुख्य आकर्षण हुन्। यी गतिविधिका कारण पछिल्लो समय यहाँ दैनिक सयौंदेखि हजारौंसम्म पर्यटक पुग्ने गरेका छन्।

    यस क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित नेपाली युवा व्यवसायीहरूले लगानी अघि बढाएका हुन्। ‘ह्याप्पील्यान्ड प्राइभेट लिमिटेड’मार्फत २७ जना युवाले करिब १० करोड रुपैयाँको लगानीमा आधुनिक रिसोर्ट सञ्चालनमा ल्याएका छन्। साथै, स्थानीय व्यापारी तथा व्यवसायीहरूले साना होटल, रेष्टुरेन्ट, पसल तथा पर्यटनसम्बन्धी अन्य व्यवसायहरू पनि विस्तार गरिरहेका छन्।

    ‘नेपालको समुद्र, सप्तकोशी’ भन्ने नारासहित बोराबाँध र ह्याप्पील्यान्ड क्षेत्रमा अहिले पर्यटकको ठूलो भीड लाग्ने गरेको छ। यहाँ नेपाली पर्यटकका साथै छिमेकी मुलुक भारतबाट समेत उल्लेख्य संख्यामा पर्यटक आउने गरेका छन्। अन्तर्राष्ट्रियस्तरको सम्भावना देखिएपछि थप लगानीकर्ता तथा पर्यटन व्यवसायीहरू पनि आकर्षित हुन थालेका छन्।

    अंग्रेजी नयाँ वर्षको अवसर पारेर ह्याप्पील्यान्ड प्राइभेट लिमिटेडद्वारा निर्माण गरिएको रिसोर्टको औपचारिक उद्घाटन भइसकेको छ। यसले कोशी प्रदेश सरकारले सञ्चालन गरेको भ्रमण वर्ष अभियानलाई सफल बनाउन टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, सप्तकोशी किनार भविष्यमा नेपालकै प्रमुख सामुद्रिक अनुभूति दिने पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने विश्वास गरिएको छ।

    प्रतिकृया दिनुहोस्