News Portal

  • नयाँ संकटले नयाँ मोर्चाबन्दी जन्माउँछ : विप्लव

    दोलागिरि संवाददाता२०८२ पौष १६
    २३६ पटक

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लवले वर्तमान राजनीतिक संकटले प्रतिस्पर्धी वर्गहरूलाई नयाँ मोर्चाबन्दी र नयाँ आवरणमा प्रस्तुत हुन बाध्य बनाएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले यस्ता प्रक्रियाले केही समय जनतामा अन्योलता सिर्जना गरे पनि अन्ततः राजनीतिक दिशाबारे स्पष्टता आउने उल्लेख गरेका छन्।

    महासचिव विप्लवका अनुसार अहिलेको संकटको अन्तिम निष्कर्ष दलाल पुँजीवादमै घुमिरहने कि नेपाली विशेषताको समाजवादतर्फ अगाडि बढ्ने भन्ने प्रश्नसँग जोडिएको छ। “नयाँ संकटले हरेक प्रतिस्पर्धी वर्गहरूलाई नयाँ मोर्चाबन्दी र आवरणमा प्रस्तुत हुन बाध्य तुल्याइदिन्छ,” उनले लेखेका छन्, “त्यस्ता कार्यले जनतामा केही समय अन्योलता ल्याए पनि अन्तिममा दलाल पुँजीवाद कि नेपाली विशेषताको समाजवाद भन्नेले सबैलाई स्पष्ट पारिदिने छ।”
    उनले केवल पात्र र पार्टी परिवर्तन मात्र पर्याप्त नहुने धारणा व्यक्त गर्दै विचार र सत्ता दुवै नयाँ हुनुपर्नेमा जोड दिएका छन्। “हामीलाई पात्र र पार्टी मात्र नयाँ होइन, विचार र सत्ता पनि नयाँ चाहिएको हो,” उनको भनाइ छ।

    महासचिव विप्लवले नेपाली जनता राजनीतिक यथार्थबारे सचेत भइसकेको उल्लेख गर्दै भविष्यमा अझ स्पष्ट रूपमा बुझ्ने विश्वास व्यक्त गरेका छन्। “नेपाली जनताले बुझेका छन्, अवश्य बुझ्ने छन्,” उनले फेसबुक स्टाटसमा उल्लेख गरेका छन्।

    उनको यो भनाइ पछिल्लो समय विकसित राजनीतिक उतारचढाव, दलहरूको पुनर्संयोजन र वैचारिक बहससँग जोडेर हेरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार विप्लवको यो अभिव्यक्तिले वर्तमान व्यवस्था र त्यसका विकल्पबारे बहसलाई थप चर्काउने संकेत गरेको छ।

    प्रतिकृया दिनुहोस्