
भक्तपुर । चाँगुनारायण नगरपालिका–५, भक्तपुरस्थित दोलागिरि माध्यमिक विद्यालयको ४३ औँ वार्षिक उत्सव तथा ‘दोलागिरि बुलेटिन’ विमोचन, सम्मान तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम चाँगुनारायण नगरपालिकाका उपप्रमुख श्री रमेश बुढाथोकीको प्रमुख आतिथ्यतामा विद्यालय प्राङ्गणमा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयको शैक्षिक, सांस्कृतिक तथा व्यवस्थापकीय गतिविधिहरूको समीक्षा गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा विद्यालयले खेलेको भूमिकाबारे चर्चा गरिएको थियो।

समारोहमा शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने शिक्षक, कर्मचारी तथा विद्यालयको विकासमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। साथै विद्यालयद्वारा प्रकाशन गरिएको ‘दोलागिरि बुलेटिन’ को औपचारिक विमोचनसमेत गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमहरूले सहभागीहरूलाई उत्साहित बनाएको थियो। नृत्य, गीत तथा विविध प्रस्तुतीमार्फत विद्यार्थीहरूको प्रतिभा उजागर गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक शिव बहादुर खुलिमुलिका अनुसार जानकारीदिँदै गुणस्तरीय शिक्षा, अनुशासन र सिर्जनशीलतामा विद्यालय निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।










