
काठमाडौँ । प्रगतिशील लेखक सङ्घ नेपाल (प्रलेस) ले १३३औँ माओ दिवसका अवसरमा ‘साहित्य र कलाबारे माओको दृष्टिकोण’ विषयक विचार–गोष्ठी सम्पन्न गरेको छ। २०८२ पुस ११ गते शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजित उक्त कार्यक्रम प्रलेस र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको हो।

विचार–गोष्ठीमा साहित्य, कला र राजनीतिको अन्तरसम्बन्ध, वर्गीय पक्षधरता तथा प्रगतिवादी साहित्यको भूमिका सम्बन्धी विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रममा तेजविलास अधिकारीले ‘साहित्यमा वर्गीय पक्षधरता’ प्रकाश थापामगरले ‘प्रगतिवादी साहित्यको लोकप्रियता’ सावित्री सीले ‘साहित्य र राजनीतिको अन्तरसम्बन्ध’ तथा विष्णु प्रभातले ‘येनान गोष्ठीको दार्शनिक पक्ष’ बारे विषयकेन्द्रित धारणा राख्नुभएको थियो।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति डा. भूपाल राईले प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै माओत्सेतुङको येनान मन्तव्यले साहित्य र कलालाई जनजीवन, वर्गसंघर्ष र सामाजिक रूपान्तरणसँग जोड्ने स्पष्ट वैचारिक दिशा दिएको उल्लेख गर्नुभयो।

कार्यक्रममा प्रलेसका पूर्व अध्यक्षहरू मातृका पोखरेल र प्राडा. जीवेन्द्रदेव गिरी, पूर्वमन्त्री तथा प्रलेस सल्लाहकार शान्ता मानवी, प्राज्ञहरू डा. मधुसूदन गिरी, डा. कृष्णराज अधिकारी, डा. कौशिला रिसाल, सल्लाहकारहरू डा. पुष्करराज भट्ट, पूर्व प्राज्ञ गोपीन्द्र पौडेल तथा विभिन्न साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रलेसका उपाध्यक्ष तथा परिसंवाद संयोजक समीर सिंहको अध्यक्षता र केन्द्रीय उपाध्यक्ष अमृता शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा सचिव कुशल बोगटीले स्वागत मन्तव्य राख्नुभएको थियो।



f












