News Portal

  • रानिकोट : प्रेम, इतिहास र हिमालको काखमा उभिएको जिउँदो गढी

    राम सुन्दर बके२०८२ पौष ९
    १४५ पटक

    आज म भक्तपुर जिल्लाको दक्षिण भेगमा अवस्थित एक अनुपम, शान्त र ऐतिहासिक पर्यटकीय गन्तव्य रानिकोटबारे केही अनुभूति र तथ्यहरू तपाईंहरूसँग साझा गर्ने प्रयास गर्दैछु। रानिकोट काठमाडौँबाट करिब २२ किलोमिटर दूरीमा रहेको, छोटो समयमै पुग्न सकिने तर अनुभूतिमा गहिरो बस्ने स्थल हो। यो स्थान केवल घुमफिरको गन्तव्य मात्र होइन, प्रेम, इतिहास र प्रकृतिको सुन्दर संगम हो। त्यसैले धेरैले रानिकोटलाई “जिउँदो इतिहास”का रूपमा लिने गर्छन्।


    संसारभर प्रेमको प्रतीक बनेका संरचनाहरू हेर्दा—भारतको ताजमहल, नेपालको पाल्पास्थित रानीमहल वा काठमाडौँको रानी पोखरी—यी सबै प्रियजनको सम्झनामा निर्माण गरिएका प्रेमका अमर चिन्ह हुन्। यिनै प्रेमका कथासँग जोडिएर भक्तपुरको रानिकोटको कथा पनि मौन तर गहिरो रूपमा बाँचिरहेको छ।
    ऐतिहासिक किम्बदन्ती र स्थानीय कथनअनुसार, भक्तपुर जिल्लाको समुद्र सतहबाट करिब २००० मिटर उचाइमा अवस्थित यस डाँडाको पुरानो नाम दोलापर्वत थियो। तत्कालीन शासकले आफ्नी प्रिय रानीप्रतिको प्रेम र सम्मानको प्रतीकस्वरूप यस स्थानको नाम परिवर्तन गरी रानिकोट राखेको मानिन्छ। यही ठाउँमा रानीका लागि दरबार निर्माण गरिएको थियो, जुन आज अवशेषका रूपमा मात्र बाँकी छ। तत्कालीन समयमा रानिकोट केवल दरबार मात्र होइन, विश्रामस्थल, रणनीतिक गढी र प्राकृतिक सौन्दर्यले भरिएको “श्वर्गको टुक्रा”का रूपमा परिचित थियो। आज दरबारका संरचनाहरू समयसँगै हराइसके पनि रानिकोट गढी भने अझै इतिहासको मौन साक्षी बनेर उभिएको छ।


    गढीमा उभिँदा मानिसलाई आफू संसारकै माथि पुगेको जस्तो अनुभूति हुन्छ। यहाँबाट देखिने हिमशृङ्खला अद्भुत छ—लहरै बसेका हिमालहरू ध्यान वा तपस्यामा लीन साधुजस्तै देखिन्छन्। बिहानको घामसँगै हिमालहरूले सुनौलो रंग ओढ्छन्, दिउँसो नीलो आकाशसँग मिसिन्छन् र साँझपख सुनझैँ टल्कँदै अस्ताउँदो सूर्यसँगै झन् रहस्यमय देखिन्छन्। हिमालको काखमुनि फैलिएका हरिया पहाड, तल उपत्यकाको दृश्य, स्वच्छ हावा र मौन वातावरणले रानिकोटलाई ध्यान, विश्राम र आत्मिक शान्तिका लागि आदर्श स्थल बनाएको छ। पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकहरूको आकर्षण बढ्दै गएको भए पनि रानिकोटले अझै आफ्नो मौलिक शान्तता र प्राकृतिक स्वरूप जोगाइराखेको छ।


    रानिकोट केवल हेर्ने ठाउँ मात्र होइन—यो महसुस गर्ने ठाउँ हो। प्रेमको सम्झना, इतिहासको गहिराइ र प्रकृतिको विशालता एउटै स्थानमा अनुभव गर्न सकिने दुर्लभ स्थल हो रानिकोट। उचित संरक्षण, प्रचार र जिम्मेवार पर्यटन विकास गर्न सकियो भने रानिकोट भक्तपुरको मात्र होइन, सम्पूर्ण नेपालको गर्विलो पर्यटकीय गन्तव्य बन्ने पूर्ण सम्भावना बोकेको छ।

    प्रतिकृया दिनुहोस्