
भक्तपुर/पौष ५ गतेः चाँगुनारायण नगरपालिका–८, सुडालस्थित आरक्षण नेसनल स्कुल (आरक्षण नेशनल एकेडेमी) ले विषयगत बृहत् शैक्षिक प्रदर्शनी सफलतापूर्वक सम्पन्न गरेको छ।
विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक रूपमा सिक्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनीमा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विद्यालयस्तरमै प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न प्रेरित गर्नु, वैज्ञानिक सोचको विकास गर्नु तथा सिकाइ प्रक्रियामा सृजनशीलताको अभिवृद्धि गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको विद्यालयले जनाएको छ। यस अवसरमा विभिन्न कक्षाका विद्यार्थीहरूले विज्ञान, गणित, सामाजिक अध्ययन, वातावरण लगायतका विषयसँग सम्बन्धित आफ्ना परियोजना, मोडेल तथा प्रयोगहरू प्रस्तुत गरेका थिए।

प्रदर्शनीमार्फत विद्यार्थीहरूमा जिज्ञासु सोच विकास गर्ने, सिकाइलाई व्यवहारसँग जोड्ने तथा विभिन्न विषयगत समस्याको समाधान गर्ने क्षमतामा वृद्धि गराउने लक्ष्य लिइएको थियो। यसले शिक्षण–सिकाइ प्रक्रियालाई अझ रोचक, प्रभावकारी र अर्थपूर्ण बनाएको विद्यालयको विश्वास छ।
कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यार्थीहरूको लगनशीलता, सिर्जनात्मकता र प्रस्तुति क्षमताको खुलेर प्रशंसा गरेका थिए। साथै, यस किसिमका शैक्षिक गतिविधिले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने धारणा व्यक्त गरिएको थियो।
पछिल्लो समयमा आरक्षण नेसनल स्कुल गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मात्र नभई शैक्षिक तथा अतिरिक्त क्रियाकलापमार्फत विभिन्न कार्यक्रमहरूमा समेत उत्कृष्ट स्थान हासिल गर्दै आइरहेको विद्यालय प्रशासनले जनाएको छ।









