News Portal

  • जनताको विश्वास पाए प्रधानमन्त्री बनेर देशको मुहार फेर्छौं : महासचिव विप्लव

    दोलागिरि संवाददाता२०८२ पौष ५
    १५२ पटक

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले जनताले विश्वास गरे आफू प्रधानमन्त्री बनेर देशको मुहार फेर्ने दृढता व्यक्त गरेका छन्। पार्टी निकट अखिल (समाजवादी)द्वारा आज आयोजित ‘जेन–जीसँगको अन्तरक्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
    महासचिव विप्लव सीले आगामी निर्वाचनमा पार्टी चुनावी मैदानमा उत्रिने स्पष्ट पार्दै जनताले अवसर दिए कार्यकारी प्रमुखको जिम्मेवारी लिएर देश निर्माणमा जुट्ने बताए। विगतका संघर्षका अनुभव सुनाउँदै उनले बन्दुक बोकेको, जेल बसेको र किताब पढेको यात्रा अहिले नयाँ चरणमा प्रवेश गरेको उल्लेख गरे। “हामीले संघर्ष पनि गर्‍यौँ, अध्ययन पनि गर्‍यौँ।

    अब नयाँ उद्योगधन्दा चलाएर, काम गरेर देश बनाउने हाम्रो योजना छ,” उनले भने। उनले किसान, मजदुर, बुद्धिजीवी, व्यापारी, मध्यम वर्ग, शहर र गाउँका जनताले मौका दिए आफू प्रधानमन्त्री बनेर ‘गोरु जस्तो जोतेर’ देशको सेवा गर्ने चाहना नेकपा (माओवादी)को रहेको बताए। “तपाईंहरूले एकचोटी गरेर देखाउ भनेर जिम्मा दिनु भयो भने हामी त्यो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्छौँ,” उनले जोड दिए।

    महासचिव विप्लव सीले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन हुने विषयमा भने गम्भीर शंका व्यक्त गरे। सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन सक्छ भन्नेमा जनविश्वास नरहेको उनको भनाइ थियो। प्रहरी र कर्मचारीको खस्किएको मनोबल, आन्दोलनका क्रममा लुटिएका करिब १६ सय हतियार अझै फिर्ता नहुनु तथा राज्यसँग आवश्यक बजेटको अभावका कारण तोकिएको समयमा चुनाव गराउनु चुनौतीपूर्ण रहेको उनले बताए।

    आन्दोलनका क्रममा प्रहरीमाथि भएको हिंसाले सुरक्षाकर्मीको मनोबल गिरेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न कठिन हुने धारणा राखे।
    यसै क्रममा महासचिव विप्लव सीले वर्तमान राजनीतिक संकटको निकासका लागि सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुको विकल्प नरहेको बताए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने आवश्यकता औँल्याउँदै ‘जेन–जी’ पुस्ताले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्व खोजिरहेको बताए।

    “नयाँ शक्तिहरू उदाउने समयमै पुराना शक्तिहरू फेरि सलबलाउन थालेका छन्,” उनले भने, “वर्तमान सरकारले भ्रष्टाचारीमाथि कारबाही गर्ने युवाहरूको माग पूरा गर्न सकेको छैन।”
    कार्यक्रममा सहभागी युवाहरूले रोजगारी, सुशासन, लोकतन्त्र र राज्य व्यवस्थाका विषयमा जिज्ञासा राखेका थिए भने महासचिव विप्लव सीले देश परिवर्तनका लागि वैकल्पिक राजनीतिक मार्ग आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

    प्रतिकृया दिनुहोस्