News Portal

  • कोशीबगर : आजको लगानी, आजकै फल

    राम सुन्दर बके२०८२ पौष ५
    २०१ पटक

    आज म कोशी किनाराबाट तपाईंहरूमाझ केही नयाँ कुरा राख्न चाहन्छु। भनिन्छ । सन्तानमा लगानी गर्दा फल खान २० वर्ष लाग्छ, रूखमा लगानी गर्दा १० वर्ष लाग्छ, खेत–बारीमा लगानी गर्दा ४–५ महिना लाग्छ। तर पर्यटनमा लगानी गरे आजै फल पाइन्छ।

    पर्यटन भनेको त्यही क्षेत्र हो जहाँ एक जना विदेशी नागरिकले नेपालको जमिन टेकेकै क्षणदेखि पैसा खर्च गर्न थाल्छ। मानिस जहाँ गए पनि कमाउन खोज्छ खेल्दा पनि, घुम्दा पनि, रमाउँदा पनि। पर्यटक त सुरुमै भन्छ, “म दैनिक यति खर्च गर्छु।” यही नै पर्यटनको शक्ति हो। आज कोशीबगरमा हेर्दा यही यथार्थ देखिन्छ।

    दैनिक हजारौँ मानिसहरू बिहानदेखि साँझसम्म घुम्न आइरहेका छन्। हिजोसम्म एउटा सुनसान बगर मात्र रहेको यो ठाउँ आज समुद्री बीच झैँ आकर्षक बनेको छ। अब यो क्षेत्र विदेशीसँग पनि प्रतिस्पर्धा गर्न सक्ने गन्तव्य बन्दै गएको छ।
    कोशीबगर आज पूर्व नेपालको नयाँ पर्यटकीय केन्द्र बनेको छ।
    दुःखको बगर आज सुखको बगरमा बदलिएको छ।
    “सोच नै संसारको सबैभन्दा ठूलो हतियार हो” भन्ने भनाइको जीवन्त उदाहरण बनेको छ कोशीबगर।

    मैले पहिले सोच्ने गर्थें कोशीलाई कसरी विश्वस्तरीय पर्यटन गन्तव्य बनाउने? तर आज देख्दा लाग्छ, स्थानीयहरूको सक्रियताले यो क्षेत्र छिटो विकास भएको छ। यहाँ हरेक दिन नयाँ गतिविधि थपिँदैछन्। पर्यटक बढेसँगै रिक्सा चालकहरूलाई भ्याइनभ्याइ छ ।पहिला साँझ नपुग्दै घर फर्किनेहरू आज रातिसम्म व्यस्त छन् ।

    घरको चुलो–चौका सम्हाल्ने महिला दिदीबहिनीहरू आज आफूलाई आएको परिकार बेच्न व्यस्त छन्। कतै पानी बेचिँदैछ, कतै मकै पोलिँदैछ, कतै भक्का र रोटी। युवाहरूले रेस्टुरेन्ट, बियर बार खोलेका छन्। बालबालिकाका खेलौना बेच्ने, खेल सामग्री राख्नेहरू छन्। फोटोग्राफीलाई पेशा बनाएका युवाहरू पनि यहीँ भेटिन्छन्। कोशीबगरले सबैलाई आफ्नो क्षमता अनुसारको काम दिएको छ।

    यहाँ स्थानीयहरू दिनभरि काम गर्छन्, साँझ आफ्नै परिवारसँग पर्यटक बनेर रमाउँछन्। दुःखको कुरा के भने यति सुन्दर गाउँ, यति रमाइलो ठाउँ आफ्नै गाउँमा छ भन्ने कुरा कतिपयलाई अझै थाहा छैन। आज दिनमा घुम्न आउनेहरूका लागि खानाको सुविधा छ।

    अब यदि राति बस्न सकिने सुविधा पनि थपियो भने,
    त्यो त सुनमा सुगन्ध हुने थियो। राति घुम्न आउने मानिसको एउटै प्रश्न हुन्छ । “रमाइलो त भयो, तर अब कहाँ बस्ने?”
    यदि यही सुविधा कोशीबगरमै दिन सकियो भने मानिसहरू बास बस्ने गरी आउँथे, सबैको व्यापार बढ्थ्यो,
    र कोशीबगर साँच्चै जीवन्त बन्थ्यो।

    इलामको श्रीअन्तु हेर्नुहोस्, रातभर संगीत, नाचगान, रमाइलो।
    यदि त्यस्तै सांस्कृतिक साँझ, संगीत र मनोरञ्जन कोशीबगरमा पनि गर्न सकियो भने कति सुन्दर हुन्थ्यो! कोशीबगर सम्भावनाको खानी हो। अब आवश्यक छ । दूरदृष्टि, योजना र सामूहिक प्रयास। आजको लगानी आजकै फल यही हो कोशीबगरको सन्देश।

    प्रतिकृया दिनुहोस्