
चाँगुनारायण नगरपालिकामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नगर समितिको दोस्रो नगर परिषद सफलतापूर्वक सम्पन्न भएको छ।
दोस्रो नगर परिषदको उद्घाटन गर्दै प्याब्सन केन्द्रीय समितिका कोषाध्यक्ष गणेशबाबु पोख्रेलले निजी विद्यालयहरू बन्द हुने अवस्था नरहे पनि समयानुकूल विद्यालय व्यवस्थापन गर्न नसके आफ्नै कमजोरीका कारण बन्द हुन सक्नेतर्फ संकेत गरे। उनले निजी विद्यालयहरू समयानुकूल सञ्चालन गर्नुपर्नेमा जोड दिँदै विद्यार्थी केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह गरे। साथै नगर समितिहरूले जिल्ला, प्रदेश र केन्द्रसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा उनले विशेष जोड दिए।
कार्यक्रममा चाँगुनारायण नगर प्याब्सनका सचिव रामप्रसाद निरौलाले हालसम्म भएका गतिविधि, निर्णय तथा संगठनात्मक प्रगतिबारे प्रतिवेदन प्रस्तुत गरे। उनले संस्थाका उपलब्धि, भावी योजना र चुनौतीहरूबारे जानकारी गराएका थिए।
त्यस्तै, संस्थाका कोषाध्यक्ष दीपकबहादुर बिष्टले वार्षिक आय–व्यय विवरण प्रस्तुत गर्दै आर्थिक पारदर्शिता अपनाउँदै विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको बताए।
कार्यक्रममा भुवनलाल श्रेष्ठ, राजन कसपाल, रमेश काफ्ले, श्रीकृष्ण केसीलगायत वक्ताहरूले विद्यार्थी केन्द्रित कार्यक्रम, शिक्षक तालिमको व्यवस्था तथा संगठनप्रति उत्तरदायी भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको अध्यक्षता गर्दै चाँगुनारायण नगर प्याब्सनका अध्यक्ष टंकप्रसाद सिटौलाले नगरपालिकामा निजी विद्यालयको संख्या कम भएकाले सदस्य संख्या पनि सीमित रहेको र त्यसकै कारण संस्थाले सोचेजस्तो प्रगति गर्न नसकेको बताए। यद्यपि जिल्ला, प्रदेश र केन्द्रसँगको समन्वयमा संस्था निरन्तर अघि बढिरहेको उनको भनाइ थियो। उनले खेलकुद, चित्रकला र साहित्य विधामा विभिन्न प्रतियोगिता सञ्चालन गरी विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउन संस्था सक्रिय रहेको र नगरपालिकासँग सहकार्य गर्दै आएको जानकारी दिए।
कार्यक्रम प्याब्सन चाँगुनारायण नगर समितिका अध्यक्ष टंकप्रसाद सिटौलाको सभापतित्वमा सम्पन्न भएको थियो।



















