
काठमाडौ मंगसीर ३०। जनपत्रकार सङ्गठन नेपाल केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक सफलतापूर्वक सम्पन्न भएको छ। बैठकले संगठनको पाँचौँ राष्ट्रिय सम्मेलन यहि फागुन २८/२९ गते आयोजना गर्ने महत्वपूर्ण निर्णय गरेको छ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पार्टी प्रवक्ता प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। प्रमुख अतिथिले अनलाइन पोर्टल, मिडिया तथा प्रकाशन क्षेत्रले पार्टीका नीति, कार्यक्रम र वैचारिक धारणा जनसमक्ष पुर्याउने काममा खेल्ने भूमिकाबारे विशेष जोड दिनु भएको थियो । उहाँले वर्तमान अवस्थामा मुख्यधारका मिडियाहरू पूँजी र सत्ताको प्रभावमा परेको उल्लेख गर्दै जनपक्षीय अनलाइन मिडिया, वैकल्पिक सञ्चार माध्यम र प्रकाशन गृहहरूले पार्टीको राजनीतिक लाइन प्रचार–प्रसार गर्ने प्रभावकारी माध्यमको रूपमा काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले जनपत्रकारहरूले तथ्यपरक, जनमुखी र वर्गीय दृष्टिकोणसहित रिपोर्टिङ गर्दै जनताको आवाजलाई सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिनुभयको थियध ।
बैठकमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव कुशल बोगटी अतिथिका रूपमा सहभागी रहनुभएको थियो। महासचिव बोगटीले जनपत्रकारिता र प्रगतिशील सांस्कृतिक आन्दोलनबीचको अन्तरसम्बन्धबारे चर्चा गर्दै सांस्कृतिक मोर्चा र सञ्चार मोर्चाले समानान्तर रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयको थियो ।
केन्द्रीय समितिको बैठकमा सहभागी सबै केन्द्रीय सदस्यहरूले आ–आफ्नो कार्यक्षेत्र, प्रदेश तथा जिल्ला स्तरको संगठनात्मक अवस्था, सञ्चार गतिविधि, चुनौती र सम्भावनाबारे विस्तृत रिपोर्टिङ प्रस्तुत गरेका थिए। प्रस्तुत रिपोर्टका आधारमा संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा वैठकमा छलफल गरिएको थियो।
बैठकले अनलाइन पोर्टल, सामाजिक सञ्जाल, छापा तथा डिजिटल मिडियामार्फत जनपक्षीय पत्रकारिता अभियानलाई अझ सशक्त बनाउने, संगठनात्मक एकता मजबुत पार्ने र जनताको पक्षमा वैकल्पिक सञ्चारलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। बैठक संङ्ठनका अध्यक्ष शेर बहादुर विकको अध्यक्षता सम्पन्न भएको थियो ।



















