
ललितपुर, २६ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पूर्व केन्द्रीय समिति सदस्य तथा ललितपुरका प्रभावशाली कम्युनिस्ट नेता कमरेड पुरुषोत्तम विष्ट ‘उत्तम’ को असामयिक निधन भएको छ। उहाँको मंसिर २३ गते निधन भएको हो।
नेता विष्टको निधनले ललितपुर जिल्लाको कम्युनिस्ट आन्दोलन तथा सामाजिक रूपान्तरणको अभियानमा अपूरणीय क्षति पुगेको भन्दै नेकपा (माओवादी) ललितपुर जिल्ला समितिले औपचारिक शोक वक्तव्य जारी गरी गहिरो दुःख व्यक्त गरेको छ।
जनयुद्धदेखि एकीकृत जनक्रान्तिसम्मको योगदान
ललितपुर जिल्लाका सरल, निष्ठावान् र जुझारु नेताका रूपमा परिचित कमरेड विष्ट जनयुद्धकालदेखि नै पार्टीको एकीकृत जनक्रान्तिको प्रक्रियामा सक्रिय रूपमा संलग्न रहनुभएको थियो। क्रान्ति, परिवर्तन र जनमुक्तिका पक्षमा उहाँले पुर्याउनुभएको योगदान सदैव स्मरणीय रहने जिल्ला समितिले जनाएको छ।
पार्टीले गुमायो एक इमानदार र वैचारिक नेता
जिल्ला इन्चार्ज विपिन सीद्वारा हस्ताक्षरित शोक वक्तव्यमा भनिएको छ,
“उहाँको निधनबाट ललितपुर जिल्लाको कम्युनिस्ट तथा सामाजिक रूपान्तरणको आन्दोलनले एक असल, इमानदार र समर्पित नेता गुमाएको छ। पार्टी दिवंगत कमरेड उत्तमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना प्रकट गर्दछ।”
पार्टीभित्र एक सादा जीवनशैली अपनाउने, वैचारिक रूपमा स्पष्ट र अनुशासित नेताका रूपमा परिचित विष्टले थुप्रै कार्यकर्ता तथा जनसमुदायलाई प्रेरणा प्रदान गर्दै आउनुभएको थियो। उहाँको निधनको खबरले सिंगो पार्टी पंक्ति र ललितपुरबासीलाई स्तब्ध बनाएको छ।





















