News Portal

  • कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी षड्यन्त्र चलिरहेको छ : महासचिव विप्लव

    दोलागिरि संवाददाता२०८२ मंसिर २७
    ४९ पटक

    काठमाडौं । नेकपा (माओवादी) का महासचिव विप्लव सीले नेपालमा कम्युनिष्ट आन्दोलनलाई उद्देश्यपूर्ण ढंगले कमजोर पार्न तथा समाप्त पार्न साम्राज्यवादी शक्तिहरू सक्रिय रूपमा लागिपरेको आरोप लगाएका छन् ।

    बागमती प्रदेश स्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले अमेरिकी तथा भारतीय हस्तक्षेपले नेपालको कम्युनिष्ट आन्दोलनलाई लगातार निशाना बनाइरहेको दाबी गरे ।

    महासचिव विप्लवका अनुसार जेनजी आन्दोलनपछि देखिएको सिद्धान्तहीनता, विचलन र भागदौडको पृष्ठभूमिमा साम्राज्यवादी घुसपैठ झनै तीव्र भएको छ । “अमेरिकी र भारतीय साम्राज्यवादको उद्देश्य नेपालमा कम्युनिष्ट धारा समाप्त पार्नु हो,” उनले भने, “कम्युनिष्टहरूलाई विचार–सिद्धान्तबाट अलग पारेर उनको मुलुकमा कम्युनिष्ट समाप्त गर्ने नीति लागू गरिएको छ ।”

    विप्लवले प्रचण्ड–माधव समूहहरूको पार्टी एकताले माओवादी पहिचान मेटिएको र सो प्रक्रियाले साम्राज्यवादी शक्तिहरू ‘खुसी’ भएको टिप्पणी गरे ।
    उनका अनुसार अहिले पनि रातो झण्डा र कम्युनिष्ट नाम हटाउनसम्मको दबाब बाह्य शक्तिहरूबाट निरन्तर परिरहेको छ ।

    विप्लवले आफ्नो पार्टी नेकपा (माओवादी) बाहेक कुनै पनि पार्टीसँग साम्राज्यवादी हस्तक्षेप रोक्ने स्पष्ट र व्यावहारिक प्रस्ताव नरहेको दाबी गरे । “हामीसँग रहेको विचार, प्रस्ताव र राष्ट्रवादी एजेण्डाले मात्र यो षड्यन्त्र रोकिन्छ,” उनले भने ।

    उनले जेनजी आन्दोलनका मुद्दा सही भए पनि त्यसमा साम्राज्यवादी र प्रतिक्रियावादी घुसपैठ गहिरिएपछि आन्दोलन आफूले चाहेको नतिजामा पुग्न नसकेको बताए ।
    “जेनजी आन्दोलन हाईज्याक भयो, अब त्यो निष्कर्षमा पुर्‍याउने जिम्मेवारी हाम्रो पार्टीको हो,” उनको भनाइ थियो ।

    जेनजीसँग सहकार्य गर्न तयार

    उनले जेनजी समूहसँग सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै, माओवादी पार्टीले उठाएको ‘नोटबन्दी’, ‘सर्वपक्षीय सरकार’, ‘संविधान संशोधन’, ‘उच्चस्तरीय छानबिन आयोग’ जस्ता प्रस्ताव अहिले जेनजीहरूले पनि उठाउन थालेको दाबी गरे ।

    चुनावमा जाने तयारी

    महासचिव विप्लवले आगामी चुनावमा भाग लिन आफ्नो पार्टी तयार रहेको र नेपाली जनताले आफूहरूलाई प्रचण्ड बहुमतसहित समर्थन गर्ने दाबीसहित विश्वास व्यक्त गरे ।
    नेताकार्यकर्तालाई संगठनात्मक कर्तव्य पूरा गर्न आग्रह गर्दै उनले स्पष्ट विचार, सिद्धान्त र कार्यक्रम विना कुनै पनि पार्टीसँग एकता सम्भव नभएको दोहोर्याए ।

    उनका अनुसार भावी एकताको आधार नयाँ कम्युनिष्ट केन्द्र निर्माण र वैज्ञानिक समाजवादतर्फको प्रतिवद्धता हुनेछ ।

    आर्थिक आधारबारे पनि टिप्पणी

    विप्लवले भविष्यमा नेपालमा टिक्न सक्ने राजनीतिक दल तीन प्रकारका मात्रै हुने उल्लेख गरे—
    १) एनजीओबाट चल्ने दल,
    २) सरकारी पावर र पैसाबाट चल्ने दल,
    ३) श्रम र उत्पादनबाट आत्मनिर्भर रहने दल।

    उनका अनुसार तेस्रो स्वरूपको दल मात्र जनताको पक्षमा लड्न सक्षम हुन्छ, र त्यो भूमिका अहिले नेकपा (माओवादी) ले मात्रै निर्वाह गरिरहेको दाबी गरे ।

    कार्यक्रम पार्टी प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीको अध्यक्षता र पार्टीका पोलिटब्युरो सदस्य तथा काठमाडौं इन्चार्ज माइला सीको सञ्चालनमा  सम्पन्न भएको थियो । सुरुमा महासचिव विप्लवलाई केन्द्रीय नेताहरूले स्वागत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Oplus_0