
काठमाडौं । बागमती प्रदेश समितिको तेर्सोपूर्ण बैठक राजधानीमा सम्पन्न भएको छ । बैठक बागमती प्रदेश इन्चार्ज कमरेड भृकुटी सिको अध्यक्षतामा बसेको थियो । वैठकमा अनेम सङ्घका केन्द्रीय अध्यक्ष कमरेड बन्धु सि प्रमुख अतिथि रहनु भएको थियो भने केन्द्रीय महासचिव कमरेड राजकुमारी सि विशेष अतिथिका रूपमा उपस्थित थिइन् ।
बैठकले फागुन २४, २५ र २६ गते हुने आठौँ राष्ट्रिय सम्मेलनलाई भव्य एवं ऐतिहासिक बनाउने मुख्य कार्यसूची पारित गर्दै प्रदेशभर व्यापक संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
योजना अनुसार बागमती प्रदेशमा घरदैलो कार्यक्रम, वडा–नगर–जिल्ला स्तरीय भेटघाट, सदस्यता नवीकरण, इकाइसम्म विस्तार र संगठनात्मक सम्मेलन तीव्र गतिमा अघि बढाइनेछ ।
बैठकले वर्तमान सन्दर्भकाेसमीक्षा चरणमा महिला, छात्रा, श्रमिक तथा उपेक्षित वर्गले भोगिरहेको दोहोरो उत्पीडन, आर्थिक निर्भरता र राजनीतिक असमानता विरुद्ध संगठनलाई अझ जागृत, जनमुखी र निर्णयकारी रूपले अगाडि सार्नुपर्ने निष्कर्ष निकालियो ।
समापन सत्रमा बोल्दै प्रमुख अतिथि कमरेड बन्धु सिले महिला आन्दोलनलाई केवल सांकेतिक र सांस्कृतिक अभिव्यक्तिमा सीमित नराखी वर्गीय राजनीतिक रूपान्तरणको केन्द्रमा स्थापित गर्नुपर्ने स्पष्ट गरे ।
त्यस्तै, विशेष अतिथि कमरेड राजकुमारी सिले परनिर्भरता, पितृसत्ता र उदारवादी भ्रमलाई परास्त गर्दै अबको सम्मेलनलाई गतिशील, कार्यान्वयनमुखी र वैचारिक समर्पणसहितको मोडमा अघि बढाउन आग्रह गरेकी थिइन् ।
बैठकबाट पारित निर्णयहरू तल्लो संरचना हुँदै इकाइसम्म कार्यान्वयनमा लैजाने निष्कर्ष निकाल्दै बागमती प्रदेशले आठौँ राष्ट्रिय सम्मेलनलाई सफल र ऐतिहासिक बनाउने दृढ प्रतिज्ञा व्यक्त गरेको छ ।



















