News Portal

  • कोहलपुरमा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को स्मृति र योगदानमा साहित्यिक विमर्श

    दोलागिरि संवाददाता२०८२ मंसिर २
    १६ पटक

    बाँके, कोहलपुर – जनयुद्धकालीन प्रगतिशील लेखक, कवि तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृति र सम्मानमा शनिबार कोहलपुरमा एक विशेष साहित्यिक विमर्श कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रमको आयोजना इच्छुकको साहित्य, विचार र क्रान्तिकारी जीवनयात्रालाई स्मरण गर्दै गरिएको हो। कार्यक्रमका अध्यक्ष तथा आयोजक संस्थाका अध्यक्ष डा. पुष्कर रिजालले इच्छुकका रचना, सामाजिक दर्शन, राजनीतिक चेतना र जीवन संघर्षलाई आजको सन्दर्भमा बुझ्न आवश्यक रहेको बताए। उनले इच्छुकको योगदान जनस्तरमा अझ गहिरो ढङ्गले प्रस्तुत गर्न निरन्तर विमर्श आवश्यक भएको उल्लेख गरे।

    नेपाली वाम आन्दोलन, प्रगतिशील साहित्य र जनपत्रकारितामा सक्रिय भूमिका निर्वाह गरेका इच्छुक जनयुद्धकालमा गिरफ्तार भई दाङ, बर्दिया, काठमाडौंलगायत विभिन्न स्थानका जेल र यातनागृहमा रहेका थिए। विसं २०५९ जेठ ६ गते महेन्द्र पुलिस क्लबमा भएका क्रुर यातनापछि उनको मृत्यु भएको थियो। कैद र दमनको बीचमा पनि उनले जेलमै लेखेका ‘बन्दी’ र ‘चन्द्रागिरी’ जिल्ला सर्वश्रेष्ठ प्रगतिशील खण्डकाव्यका रूपमा चिनिन्छन्। प्युठानका मूलबासिन्दा इच्छुकले बाल्यकाल अर्घाखाँची र दाङको देउखुरी क्षेत्रमा बिताएका थिए।

    कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्यसचिव सनत रेग्मीले इच्छुकलाई “सच्चा कम्युनिस्ट लेखक”का रूपमा स्मरण गर्दै युद्धकालीन आफ्नो व्यक्तिगत भेट र संवेदनशील प्रसङ्गहरू प्रस्तुत गरे। उनले इच्छुकको सिद्धान्त, शैली र जीवनमा यथार्थवादी समानता रहेको उल्लेख गरे।

    राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरले इच्छुकको लेखन र व्यवहारमा गहिरो साम्यता रहेको उल्लेख गर्दै “उनी लेख्ने मात्र होइन, बाँच्ने कवि थिए,” भने। साहित्यकार डा. खोपीराम वली क्षेत्रीले इच्छुकको जीवन, साहित्य, पत्रकारिता र सांस्कृतिक भूमिकाका विविध आयामबारे कार्यपत्र प्रस्तुत गरे।

    कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, साहित्यकार कल्पना पौडेल ‘जिज्ञासु’, भागवत खनाल, वागेश्वरी क्याम्पस प्रमुख दानबहादुर हमाललगायतका वक्ताहरूले शुभकामना मन्तव्य दिएका थिए।

    सोही अवसरमा लक्ष्मण मानव, देवकी निरौला, अपिल लम्साल, दीपक शाहीलगायतका कविहरूले इच्छुकलाई समर्पित कविता वाचन गरे। महाकवि देवकोटा, इच्छुकसहितका अमर सर्जकहरूको स्मृतिमा मौन धारण पनि गरिएको थियो।

    काठमाडौँ, प्युठान, बाँके, दाङ, बर्दिया लगायत जिल्लाबाट उल्लेख्य संख्यामा साहित्यकार र बौद्धिक वर्गको उपस्थिति देखिएको यो कार्यक्रममा अध्यक्षता डा. रिजालले गरेका थिए। सहसचिव प्रकाश मरासिनीले स्वागत मन्तव्य दिए भने सचिव केशव निमेषले कार्यक्रम सहजीकरण गरेका थिए।

     

    प्रतिकृया दिनुहोस्

    Oplus_0