News Portal

  • बिध्या चौहान : सौन्दर्य, संघर्ष र सफलता तीन वटैको संगम

    दोलागिरि संवाददाता२०८२ कार्तिक २७
    २१७ पटक

    काठमाडौं । मिसेस नेपाल वर्ल्ड २०२५ का प्रतिस्पर्धीमध्ये एक नाम अहिले विशेष चर्चामा छ, त्यो हो बिध्या चौहान, रामेछापको दुर्गम गाउँ फूलासीमा जन्मेकी उनी आज न केवल सौन्दर्य प्रतियोगिताको प्रतिभागी मात्र हैन एउटा सशक्त महिला नेतृत्व र उद्यमशीलताको पहिचानका रूपमा स्थापित हुँदै गएकी छन्।

    शिक्षाले नर्स भए पनि बिध्याको यात्रा स्वास्थ्य सेवासम्म सीमित रहेन, व्यवसायिक रुपमा ‘भवानी ग्रुप’को नेतृत्व सम्हालेकी उनी आज सफल व्यवसायीका रूपमा परिचित छन्। केवल ३० वर्षको उमेरमा उनले संस्थालाई तीन हजारभन्दा बढी युवालाई रोजगारी दिने स्रोत केन्द्र नै बनाउन सफल भएकी छन्।

    उनको भनाइमा, “व्यवसाय केवल नाफाको विषय होइन, यो अवसर सिर्जनाको माध्यम हो। मैले गाउँका युवतीहरूलाई पनि आत्मनिर्भर बन्ने बाटो देखाउन खोजेकी छु।” मिसेस नेपाल वर्ल्डमा सहभागिताबारे बिध्या भन्छिन्, “यो केवल सौन्दर्य प्रतियोगिता होइन, आत्मविश्वास, पहिचान र सिकाइको यात्रा हो। हार-जित द्वितीय कुरा हो, मुख्य कुरा आत्मबोध र समाजलाई गतिलो सन्देश दिनु हो।”

    उनले परिवार, व्यवसाय र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्दै महिलाको भूमिकालाई घरभित्र सीमित राख्ने सोचलाई चुनौती दिएकी छन्। श्रीमान् भवानी ओझाको साथ र परिवारको प्रोत्साहन नै आफ्नो सबैभन्दा ठूलो प्रेरणा र बल भएको उनी बताउँछिन्।

    मिसेस नेपाल वर्ल्ड २०२५ को ग्रान्ड फिनाले कात्तिक २९ गते काठमाडौंको महेन्द्र पुलिस क्लबमा हुँदैछ। फाइनलमा पुगिसकेकी चौहान अहिले अन्तिम तयारीमा व्यस्त छिन्।

    विशेषज्ञहरूको मूल्याङ्कनमा चौहानजस्ता प्रतिभाशाली महिलाहरूले नेपाली समाजमा महिला नेतृत्व, उद्यमशीलता र सामाजिक उत्तरदायित्वका विषयलाई सकारात्मक बहसमा रूपान्तरण गरेका छन्। ग्रामीण परिवेशबाट उठेर राष्ट्रिय स्तरमा आफ्नो उपस्थितिलाई स्थापित गर्न सफल चौहान धेरैका लागि प्रेरणाको स्रोत बनेकी छन्।

    फूलासीको साधारण गाउँबाट सुरु भएको बिध्या चौहानको यात्रा आज सफलता, संघर्ष र आत्मविश्वासको सुन्दर कथा बनिसकेको छ — जहाँ सौन्दर्यसँगै दृष्टि, उद्देश्य र जिम्मेवारी पनि बराबरीको हैसियतमा उभिएको छ।

    प्रतिकृया दिनुहोस्

    Oplus_0