भक्तपुर, कार्तिक २४ । भक्तपुर क्यान्सर अस्पतालको ३१औं वार्षिकोत्सवको अवसरमा सोमबार नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गरिएको छ । उक्त भवनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले गरेकी हुन् ।
कार्यक्रमका अवसरमा मन्त्री शर्माले अस्पतालमा २५ वर्षदेखि निरन्तर सेवा पुर्याएका कर्मचारीहरूलाई दीर्घ सेवा सम्मानपत्र र “बेष्ट डिसिप्लिनरी अवार्ड” प्रदान गरिन् । साथै वार्षिकोत्सवकै अवसरमा आयोजित फुटसल प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, भक्तपुर नगरपालिकाकी उप–प्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, अस्पताल विकास समितिका अध्यक्ष एवं स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठ, अस्पतालका कार्यकारी निर्देशक डा. उज्जवल चालिसेलगायतका अतिथिहरूले अस्पतालको उपलब्धि, चुनौती र भावी योजनाबारे चर्चा गरेका थिए ।
वि.सं. २०५१ सालमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भक्तपुर नगरपालिका, नेपाल अर्बुद रोग निवारण संस्था, रोटरी क्लव तथा विभिन्न सामाजिक संघसंस्थाहरूको सहकार्यमा सामुदायिक अस्पतालको रूपमा स्थापना गरिएको भक्तपुर क्यान्सर अस्पतालले हालसम्म देशभरिका क्यान्सर रोगीलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।
विषम परिस्थितिमा पनि सेवा निरन्तर राख्दै आएको यस अस्पताललाई सुदृढ बनाउन २०७७ कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले “भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७” स्वीकृत गरी स्वास्थ्य मन्त्रालय मातहत १२३ शैय्याबाट सेवा सञ्चालनमा ल्याइएको थियो ।
हाल अस्पतालमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (NAMS) अन्तर्गत मेडिकल अन्कोलोजीमा एमडी तहसम्मको अध्ययन कार्यक्रम सञ्चालनमा छ । साथै रेडियसन अन्कोलोजी र गाइने अन्कोलोजीमा एमडी रेजिडेण्ट चिकित्सकहरू क्यान्सर सम्बन्धी विशेष तालिम र अध्ययनका लागि पठाइने गरेका छन् ।
त्यसैगरी काठमाण्डौ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त मेडिकल शैक्षिक संस्थाका एमडी रेजिडेण्ट चिकित्सक, स्नातक र स्नातकोत्तर नर्सिङ विद्यार्थीहरूले पनि व्यावहारिक अभ्यासका लागि नियमित रूपमा उक्त अस्पतालमा प्रशिक्षण लिँदै आएका छन् ।
भक्तपुर क्यान्सर अस्पतालले आफ्नो ३१ वर्षको यात्रामा हजारौं बिरामीलाई जीवनको नयाँ आशा र उपचारको भरोसा दिएको भन्दै कार्यक्रमका वक्ताहरूले अस्पताल परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।


















