
भक्तपुर, कार्तिक २०।
अन्तर–विद्यालयीय लोक तथा एकल नृत्य प्रतियोगितामा सूर्यविनायक–५ स्थित यूनिटी स्कूलले दुबै विधातर्फ उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ।
इडिफाइ प्राइभेट स्कूल अर्गनाइजेसन नेपाल (ईप्सन)को आयोजनामा सदस्य विद्यालय बिमल मेमोरियल विद्यापीठमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले नेपाली लोक संस्कृतिको विविधता झल्काउने प्रस्तुति दिएका थिए।

सामूहिक लोक नृत्यतर्फ यूनिटी स्कूलले प्रथम, ईडेन गार्डेन स्कूलले दोस्रो, सूर्योदय स्कूलले तेस्रो र ग्लोबल एकेडेमीले सान्त्वना स्थान प्राप्त गरे।
त्यसैगरी, एकल नृत्यतर्फ यूनिटी इङ्ग्लिस स्कूलकी दिपशिखा खड्काले प्रथम, क्वालिटी इङ्ग्लिस स्कूलकी मनिरा तामाङले दोस्रो, ईडेन गार्डेन स्कूलकी कृष्टिना श्रेष्ठले तेस्रो र पारिजात विद्याकुन्जकी ज्योती खड्काले सान्त्वना स्थान हासिल गर्न सफल भए।
कार्यक्रमका सभापति तथा आयोजक विद्यालय बिमल मेमोरियलका प्रधानाध्यापक कुमार थापा मगरले प्रतियोगिता आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्दै सफलताको श्रेय निर्णायक, सहभागी विद्यालय र विद्यार्थीहरूलाई अर्पण गरे।
त्यस अवसरमा प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नं. १० का वडाध्यक्ष शिवराम राउतले विजेताहरुलाई पुरस्कार वितरण गर्दै बधाई ज्ञापन गरे। उनले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा नेपाली लोक संस्कृति र परम्पराप्रतिको आकर्षण र जगेर्ना गर्ने प्रेरणा दिने उल्लेख गरे।
ईप्सनका अध्यक्ष तथा क्वालिटी इङ्ग्लिस स्कूलका प्रिन्सिपल जी.बी. खड्काले कार्यक्रममा सहभागी सबै विद्यालय र आयोजक बिमल मेमोरियललाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ व्यापक र प्रभावशाली कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।


















