News Portal

  • केपी ओलीको आह्वानः जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्

    दोलागिरि संवाददाता२०८२ कार्तिक १५
    ३८ पटक

    काठमाडौं, कार्तिक १४ —
    नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै पूर्वएमाले नेता, कार्यकर्ता र समर्थकहरूलाई पार्टीमा फर्किन आह्वान गरेका छन्। शुक्रबार राजधानीमा आयोजित विशेष कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लोकतन्त्र र राष्ट्रिय स्वाधीनतामाथि बढ्दै गएको संकटको घडीमा एकताको आवश्यकता औंल्याउँदै भावनात्मक अपिल गरेका हुन्।

    जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्,” ओलीले भने, “यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो। हामी सबै मिलेर देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं।”

    उनले नेकपा (एमाले) केवल एउटा राजनीतिक संगठन नभई जनताको रगत, पसिना र आँसुबाट बनेको विशाल परिवार भएको उल्लेख गर्दै भने, “तीन पुस्ताले यो पार्टीको जग बसालेका छन् — कसैले जेलयातना सहनुभयो, कतिले बलिदान गर्नुभयो, कतिले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गर्नुभयो।”

    अध्यक्ष ओलीले विगतमा पार्टी निर्माण र देश विकासका अभियानमा सँगै हिँडेका नेता–कार्यकर्तालाई पुनः एउटै छातामुनि आउन आग्रह गर्दै भने, “हामी एउटै परिवार हौं, हाम्रो लक्ष्य स्पष्ट छ — समृद्ध नेपाल, सुखी नेपाली।

    उनका अनुसार एमालेले निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा सधैं अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेको छ। उनले सामाजिक सुरक्षा कार्यक्रम ल्याउनेदेखि लोककल्याणकारी राज्यको आधार निर्माणसम्मको श्रेय पनि एमालेलाई जान्छ भन्दै भने, “देशभक्तिको भावना जगाउने र राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच यही पार्टी हो।”

    ओलीले हाल लोकतान्त्रिक संविधान र राष्ट्रिय सार्वभौमिकतामाथि चुनौती खडा गरिएको उल्लेख गर्दै सबैलाई एकै स्वरमा प्रतिवाद गर्न आग्रह गरे।
    उनले भने, “आज फेरि महाविनाशको सङ्केत देखिँदैछ। यस्तो बेला हामी मौन रहन सक्दैनौं। राष्ट्रिय एकता र लोकतन्त्रको रक्षा गर्न सबै देशभक्त शक्तिहरू एकताबद्ध हुनुपर्छ।”

    समापनमा उनले पुनः जोर दिँदै भने,
    “कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घर फर्किनुस्। हाम्रो साझा सपना साकार पार्न निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं।”

     

    प्रतिकृया दिनुहोस्

    Oplus_0