News Portal

  • लिपुलेकमार्फत भारत–चीन व्यापार गर्ने निर्णयप्रति प्रगतिशील लेखक सङ्घको आपत्ति

    दोलागिरि संवाददाता२०८२ भाद्र १३
    १९९ पटक

    काठमाडौ । प्रगतिशील लेखक सङ्घ (प्रलेस) ले भारत र चीनबीच नेपाली भूमि लिपुलेकमार्फत द्विपक्षीय व्यापार गर्ने भनी भएको निर्णयप्रति कडा आपत्ति जनाएको छ।

    प्रलेस अध्यक्ष देबी क्षेत्री दुलाल र महासचिव पारस ढकालद्वारा शुक्रबार संयुक्त रूपमा जारी विज्ञप्तिमा उक्त निर्णयले नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रियतामाथि गम्भीर हस्तक्षेप गरेको ठहर गरिएको छ।

    विज्ञप्तिमा भनिएको छ, “भारत र चीनलाई यो निर्णय तत्काल फिर्ता लिनुका साथै नेपालको अखण्डता र सार्वभौमिकताको सम्मान गर्न हार्दिक अपिल गर्दछौं। यस विषयमा नेपाल सरकारले शान्तिपूर्ण कूटनीतिक पहल गर्दै त्रिदेशीय वार्ता तथा संवादमार्फत दीर्घकालीन समाधान खोज्न तत्काल पहल गर्नुपर्छ।”

    यस्तै, नेपालभित्रका सम्पूर्ण कम्युनिस्ट पार्टीहरू तथा अन्य राजनीतिक दलहरूलाई एक स्वरमा विरोध जनाउन समेत प्रगतिशील लेखक सङ्घले अपिल गरेको छ।

    सङ्घले सवारी साधनमा अङ्ग्रेजी भाषामा इम्बोस्ट नम्बर प्लेट प्रयोग गर्ने सरकारले गरेको निर्णयलाई पनि अस्वीकार गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अङ्ग्रेजी भाषामा इम्बोस्ट नम्बर प्लेट राख्ने निर्णय उचित छैन। यो विदेशी कम्पनीको सफ्टवेयर प्रयोग भएकाले आन्तरिक सूचना चुहावट हुने खतरा रहन्छ। साथै यस कार्यले नेपाली भाषाको अपमान भएको छ।”

    यसरी, प्रगतिशील लेखक सङ्घले सरकारलाई इम्बोस्ट नम्बर प्लेट सम्बन्धी निर्णय तत्काल फिर्ता लिएर खारेज गर्न माग गर्दै गम्भीर ध्यानाकर्षण गराएको छ।

    प्रतिकृया दिनुहोस्