
काठमाडौँ, भदौ ८ – युनिट्री (MAW Vriddhi) को मुख्य प्रायोजनमा आयोजित नाडा अटो शो २०२५ शनिबार राजधानीको भृकुटीमण्डपमा सम्पन्न भएको छ। माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले यो वर्षको अटो शो ऐतिहासिक रुपमा सम्पन्न भएको घोषणा गरेको हो।
समारोहको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। छैटौँ दिनसम्म चलेको यस प्रदर्शनीमा १ लाख ७६ हजार भन्दा बढी दर्शकको सहभागिता रह्यो, जुन अहिलेसम्मकै उच्च हो। प्रदर्शनीमा अत्याधुनिक विद्युतिय सवारी साधन, उड्ने कार, रोबोटिक प्रविधि र नयाँ ब्रान्डका मोडेलले दर्शकलाई आकर्षित गरेका थिए।
नाडाले यस अटो शोको अवसरमा दैनिक अन्तरक्रिया कार्यक्रमहरु समेत आयोजना गरेको थियो। इभि प्रवर्द्धनदेखि कर्जा नीति, सडक तथा यातायात, फ्लाइङ्ग कार टेक्नोलोजी, युवा गतिशीलता, मेड इन नेपाल जस्ता विषयमा विज्ञ, नीतिनिर्माता तथा सरोकारवालाबीच बहस भएको थियो।
यस वर्षको अटो शोमा उत्कृष्ट स्टलको छनोटसमेत गरिएको थियो। उत्कृष्ट चारपाङ्ग्रे सवारी साधनतर्फ एमएडब्लु अटो कर्प, दुईपाङ्ग्रे तर्फ रोयल इनफिल्ड अल्फा अटोमोटिभ, लाइट कमर्सियल भेहिकलतर्फ DFSK श्री अद्धेत इभि, र उत्कृष्ट सपोर्टिङ्ग स्टल हिट्को प्रा.लि.लाई प्रदान गरिएको थियो। बैंक तथा इन्स्योरेन्सतर्फ ग्लोबल आईएमई बैंक विजयी भयो।
समापन समारोहकै दिन बसेको २१औं केन्द्रीय कार्यसमितिको बैठकले नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाललाई नाडा अटोमोबाइल्स महासंघ नेपालमा रूपान्तरण गर्ने ऐतिहासिक प्रस्तावसहित विशेष साधारण सभा बोलाउने निर्णयसमेत गरेको छ।
नाडा अटो शो २०२५ मा प्रधानमन्त्री ओली, सभामुख देवराज घिमिरे, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत उच्च सरकारी अधिकारी, सांसद, कलाकार, खेलकुद क्षेत्रका प्रतिनिधि र अन्तर्राष्ट्रिय पाहुनाहरुले सहभागिता जनाएका थिए।
छ दिनसम्म चलेको यो प्रदर्शनीले सुस्ताइरहेको अटोमोबाइल व्यवसायलाई पुनः गतिशील बनाउन मद्दत गर्ने मात्र नभई देशको समग्र अर्थतन्त्रलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ।
