
काठमाडौं, साउन । नेपाल इन्जिनियरिङ कलेज (नेक)की प्राध्यापक तथा कलेज सञ्चालक समिति सदस्य सावित्री त्रिपाठी इम्पेरियल कलेज लन्डनको ग्लोबल कनेक्ट फन्ड अन्तर्गतको एक महत्वपूर्ण परियोजनामा छनोट हुनुभएको छ।
‘भारत र नेपालमा बजारको तत्परता र ठूलो परिमाणमा कार्यान्वयनका लागि वास प्रविधिहरूको मूल्यांकनको लागि क्षेत्रीय प्लेटफर्म निर्माण’ शीर्षकको उक्त परियोजनामा प्राध्यापक त्रिपाठी नेपालतर्फको सह-अनुसन्धानकर्ता रहनुहुनेछ। परियोजनाको नेतृत्व इम्पेरियल कलेज लन्डनका प्रमुख अनुसन्धानकर्ता प्रा. माइकल टेम्पलेटनले गर्नेछन् भने भारतको मणिपाल विश्वविद्यालयकी प्रा. युनिका सोगानी पनि सह-अनुसन्धानकर्ताको भूमिकामा रहनेछिन्।
एक वर्ष अवधि रहने यस परियोजनाअन्तर्गत प्रा. त्रिपाठीले नेपालमा सरसफाइ प्रविधिहरूको अन्वेषण, अध्ययन र भविष्यमा तिनको व्यवसायिक विस्तारका लागि रणनीति निर्माणमा नेतृत्व गर्नेछिन्। परियोजनाले सरसफाइ प्रविधिहरूको विस्तृत योजनाबद्ध प्रतिवेदन तयार गर्ने र तिनको बजारीकरणको मार्गचित्र तय गर्ने लक्ष्य लिएको छ।
यस पहलले सरसफाइ प्रविधि क्षेत्रमा कार्यरत अनुसन्धानकर्ताहरू र विद्यार्थीहरूको क्षमता विकासमा समेत उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ। प्रा. त्रिपाठी हाल कलेजको विज्ञान तथा मानविकी संकायमा कार्यरत छिन्।
