News Portal

  • भक्तपुरका भित्री सडकहरूमा एकतर्फी सवारी सञ्चालनको निर्णय, १५ दिनभित्र अध्ययन रिपोर्ट आउने

    दोलागिरि संवाददाता२०८२ साउन २३
    १०७ पटक

    भक्तपुर, साउन २१ ।
    भक्तपुर नगरपालिकाले नगरको भित्री सडकहरूमा बढ्दो सवारी चापका कारण देखिएको जाम र अव्यवस्थालाई सम्बोधन गर्न एकतर्फी (‘वान वे’) सवारी सञ्चालनको निर्णय गरेको छ। नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको सरोकारवालाहरूको बैठकले यो निर्णय गरेको हो।

    नगरप्रमुख प्रजापतिका अनुसार भक्तपुर नगरपालिका–३ अन्तर्गत बाराही स्थानदेखि वंशगोपालसम्म र राम मन्दिर पुलदेखि तालाक्व हुँदै बोलाछेँसम्मको सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गरिनेछ। उनले भने, “साँघुरा र ऐतिहासिक सडकहरूमा दुईतर्फी सवारी साधन चल्दा ठूला दुर्घटनाको जोखिम र ट्राफिक अवरोध हुँदै आएको छ। त्यसैले प्रारम्भिक रूपमा केही सडकहरूलाई ‘वान वे’ प्रणालीमा लैजाने निर्णय गरेका हौं।”

    बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर ऐतिहासिक र सांस्कृतिक हिसाबले अत्यन्त महत्वपूर्ण क्षेत्र भएकाले सवारी व्यवस्थापन अझ व्यवस्थित र प्रभावकारी बनाउनु आवश्यक रहेको बताइन्। उनले एकतर्फी व्यवस्था गर्दा पैदल यात्रु, पर्यटक र सर्वसाधारणलाई सहज हुने धारणा राखिन्।

    सवारी व्यवस्थापन निर्णयलाई थप व्यावहारिक र अध्ययनमा आधारित बनाउने उद्देश्यले सात सदस्यीय अध्ययन टोली पनि गठन गरिएको छ। टोलीको संयोजक वडाध्यक्ष राजकृष्ण गोरालाई तोकिएको छ भने टोलीमा वडा नं. ३ का वडाध्यक्ष, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी, नगर प्रहरी, वडा निरीक्षक तथा सरसफाइ शाखाका प्रतिनिधि समावेश गरिएको छ।

    सो टोलीलाई १५ दिनभित्र अध्ययन रिपोर्ट तयार गरी नगरपालिकामा पेस गर्न निर्देशन दिइएको छ। रिपोर्टका आधारमा थप सडकहरूमा पनि एकतर्फी सवारी सञ्चालन गर्ने विषयमा निर्णय लिइने जनाइएको छ।

    स्थानीय बासिन्दा र व्यवसायीले सवारी व्यवस्थापनको यो प्रयासलाई सकारात्मक मानेका छन् तर यसको प्रभावकारिताका लागि उचित सूचना प्रवाह, सडक चिन्ह (साइनबोर्ड) र प्रहरीको सक्रियता आवश्यक हुने बताएका छन्।

     

    प्रतिकृया दिनुहोस्