

भक्तपुर, सोमबार – भक्तपुरको चाँगुनारायण नगरपालिका–६ सुडालमा आज विहान एक यात्रुबाहक बस दुर्घटना भएको छ। नुवाकोटको दुप्चेश्वरतर्फ जाँदै गरेको उक्त बस अचानक आफैं गुडेर ओरालोमा पल्टिँदा दुर्घटना भएको स्थानीयले जनाएका छन्।
दुर्घटनाग्रस्त बसमा झण्डै ३० जना यात्रु सवार थिए। तीमध्ये ५–६ जना घाइते भएको प्रारम्भिक जानकारी आएको छ। घाइतेहरूको भक्तपुरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। विशेषतः ख्वप अस्पताल, च्याम्हासिंहमा उनीहरूको उपचार भइरहेको पुष्टि भएको छ।
स्थानीय शान्ताराम दुला अनुसार, बस स्टार्ट नगरी ओरालोमा पार्क गरिएको थियो। तर अचानक ब्रेक फेल भएर बस आफैँ गुडेर दुर्घटनामा परेको बताइएको छ। उनी स्वयं पनि बसमा सवार थिए र “भाग्यले बाँचेको” अनुभव सुनाए।
घटनास्थलमा प्रहरी परिचालन गरिएको छ र विस्तृत विवरण आउन बाँकी छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
