

काठमाडौं, श्रावण १८। नेपालमा फेरि एक पटक ‘समाजवादी ध्रुवीकरण’ अनिवार्य जस्तै भएको छ । सामान्य नाराजस्तो होइन, वर्तमान समयको माग बन्न गएको छ । आज नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले आइतबार राजधानीमा आयोजित एक पुस्तक सार्वजनिक कार्यक्रममा समाजवादी क्रान्तिको मार्गचित्र कोर्दै यथास्थितिवादमाथि तीव्र प्रहार गरे।
दुई विचारोन्मुख कृति कम्युनिस्ट जनवाद’ लेखक: कृष्णहरि भट्ट र ‘कम्युनिस्ट समाजवाद लेखक: खेम थपलियाको पुस्तक विमोचनका अवसरमा विप्लवले उक्त भनाइ राखे हुन । “क्रान्तिको लक्ष्य अस्पष्ट छैन, तर यात्राको बाटोमा ध्रुवीकरणको अभाव छ। यही अभाव हटाउन यी पुस्तकहरू दिशानिर्देशक बन्न सक्छन्।”
उनले चेतावनीपूर्वक भने “वर्तमान सत्ता संयन्त्रले फासीवादी चरित्र अँगाल्दैछ, जनताको आवाजमाथि नियन्त्रण र आन्दोलनमाथि दमन गर्दैछ। अब क्रान्तिको लागि एकीकृत वैचारिक मोर्चा अपरिहार्य भएको छ।”
कार्यक्रममा सहभागी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली कम्युनिस्ट आन्दोलन भौतिक रूपमा खण्डित, वैचारिक रूपमा विचलित र सांगठनिक रूपमा कमजोर भएको उल्लेख गरे। उनका अनुसार, कम्युनिस्ट जनवाद ले नेपाली क्रान्तिको वैज्ञानिक जग निर्माण गर्न खोजेको छ भने कम्युनिस्ट समाजवाद ले त्यसको राजनीतिक दिशा सुनिश्चित गर्न खोजेको छ। “यी दुई दृष्टिकोण परस्पर विरोधी होइनन्, दुई चरणीय यात्रा हुन्,” उनले जोडे।
त्यस्तै, थपलियाले समाजवादी आन्दोलन भित्रको विभाजन र अस्पष्टतामाथि टिप्पणी गर्दै भने, “हामी समाजवादको नाममा टुक्रिएको एक यस्तो बगैँचा हौँ, जहाँ हरेक फूलले आफूलाई मूल गन्ध दाबी गर्छ। तर क्रान्ति एउटै माटोमा फुल्ने बोट हो।
लेखक कृष्णहरि भट्टको भनाइमा, नेपालमा परिवर्तनका नाममा केवल राजनीतिक स्वरूपहरू फेरिए, तर उत्पादन सम्बन्ध, श्रम मूल्य र वर्गीय संरचना यथावत् रहे। “यसकारण, संघर्षहरू मात्रात्मक थिए, गुणात्मक हुन सकेनन्,” भट्टको ठम्याइ थियो।
कार्यक्रममा रामबहादुर बुढा र कृष्ण वाग्ले ‘रुपेस’ले वैचारिक सहकार्यलाई महत्त्व दिँदै ‘जनवाद’ र ‘समाजवाद’ बीच वैचारिक द्वन्द्व होइन, एकता आवश्यक रहेको औंल्याए। उनीहरूको बुझाइमा, “समाजको रूपान्तरण श्रृङ्खलाबद्ध प्रक्रिया हो, जहाँ प्रत्येक धारासँग अर्को धाराको ऐतिहासिक सम्बन्ध हुन्छ।
प्रकाशक संस्था भूँडीपूराण का प्रमुख केशव पराजुलीले पछिल्लो पुस्ताका नेताहरू विचारपठन र अध्ययनबाट विमुख भएको भन्दै चिन्ता जनाए। उनले भने, राजनीति बिना वैचारिक गहिराइ आत्महीन हुन्छ। यी पुस्तकहरू त्यस आत्मालाई पुनर्जीवन दिने प्रयास हुन्।
