News Portal

  • सिन्धुपाल्चोकमा एनएफपिजेको शाखा विस्तार, विजय नेपाल अध्यक्ष चयन

    दोलागिरि संवाददाता२०८२ साउन १८
    ८ पटक

    काठमाडौं, साउन १६ — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले जिल्ला शाखा विस्तारलाई तीव्रता दिँदै सिन्धुपाल्चोक जिल्लामा नयाँ शाखा गठन गरेको छ। शुक्रबार चौतारामा सम्पन्न प्रथम जिल्ला भेलाबाट विजय नेपालको अध्यक्षतामा एनएफपिजे सिन्धुपाल्चोक शाखा गठन गरिएको हो।

    भेलाबाट उपाध्यक्षमा मानकाजी तामाङ, सचिवमा सागर खड्का, कोषाध्यक्षमा प्रेम लामा तथा सदस्यमा सुजन श्रेष्ठ चयन भएका छन्। बाँकी दुई सदस्य रिक्त राखिएको र नवगठित कार्यसमितिले चाँडै मनोनयन गर्ने बताइएको छ।

    भेला समितिका संयोजक सुन्दर शिरिषको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनएफपिजे नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ प्रमुख अतिथि थिए। नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगाल विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा समूहका केन्द्रीय सचिव प्रविन राई, केन्द्रीय सदस्य शुसिल कुमार श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष राजेन्द्र गजुरेल, प्रदेश सचिव कुमार श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, पत्रकार संघ, समाजसेवी, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    प्रमुख अतिथि सागर श्रेष्ठले हालको पत्रकारिता क्षेत्र विभिन्न चुनौतीबाट गुज्रिरहेको सन्दर्भमा व्यावसायिक फोटो पत्रकारिताको महत्व अझ बढेको उल्लेख गरे। नवगठित शाखाले जिल्लाको पर्यटन प्रवर्द्धन तथा स्थानीय विकासमा योगदान दिने विश्वास व्यक्त गर्दै उनले एनएफपिजे आफ्ना लक्ष्यअनुसार अघि बढिरहेको स्पष्ट पारे।

    विशेष अतिथि ध्रुव दंगालले जिल्लामा एनएफपिजे शाखा गठन हुनु सकारात्मक संकेत भएको बताउँदै पत्रकार महासंघ सिन्धुपाल्चोक एनएफपिजेसँग सहकार्य गर्न तत्पर रहेको जानकारी दिए।

    कार्यक्रममा केन्द्रीय सचिव प्रविन राईले संस्था सञ्चालन, लक्ष्य तथा भावी योजनाका बारेमा प्रकाश पारे। बागमती प्रदेश अध्यक्ष राजेन्द्र गजुरेलले पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका अपरिहार्य रहेको भन्दै नवगठित शाखालाई सक्रिय र अनुशासित रूपमा अघि बढ्न आग्रह गरे।

    नवगठित समितिले जिल्लामा मर्यादित, पेशागत र सशक्त फोटो पत्रकारिता अभ्यास गर्दै फोटो पत्रकारहरूको हक–हितको संरक्षणमा केन्द्रित हुने प्रतिबद्धता जनाएको छ।

     

    प्रतिकृया दिनुहोस्