

काठमाडौं, साउन १६ –
प्रगतिशील लेखक सङ्घ, नेपालले आयोजना गर्ने नियमित कार्यक्रम ‘विचार चौतारी’को ८१औं श्रृङ्खलामा ‘कला, साहित्य र श्रमबिचको अन्तरसम्बन्ध’ विषयमा बहस गरिएको छ। कार्यक्रम काठमाडौंस्थित नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रममा लेखक तथा प्रस्तोता अनिल शर्मा ‘विरही’ले कला, साहित्य र श्रमबिचको ऐतिहासिक, वैचारिक तथा सांस्कृतिक सम्बन्धबारे आफ्नो धारणा प्रस्तुत गर्दै श्रमकै जगबाट सिर्जना सम्भव हुने दृष्टिकोण अघि सारे। उनले माओ त्से तुङ, कार्ल माक्र्स, फ्रेडरिक एङ्गेल्स लगायतका क्रान्तिकारी चिन्तकहरूको उद्धरण दिँदै श्रम, शिक्षा, उत्पादन र चेतनाबीचको अन्तरसम्बन्धलाई उजागर गरे।
उनको भनाइमा, “सिर्जना सत्ताको चाकरी, आलस्य वा निराशाबाट होइन, श्रम र स्वाभिमानबाट जन्मिन्छ। साहित्य र कलाको स्रोत श्रम हो भन्ने माओको विचार आज पनि सान्दर्भिक छ।” उनले थपे, “कम्युनिस्ट आन्दोलन श्रम संस्कृतिसँग जोडिएर मात्र जनतामुखी बन्न सक्छ। उत्पादन र श्रममा सहभागिता बिना सिर्जना परजीवी प्रवृत्तिको वाहक बन्न सक्छ।”
कार्यक्रममा टिप्पणीकार डा. बुन्द पाण्डेले पनि प्रस्तुत विचारहरूलाई सघाउँदै विषयवस्तुलाई अझ विस्तारित पाटोमा विश्लेषण गर्नु भएको थियो । उनले साहित्य र कलामा श्रमको स्थान नबुझी सिर्जनात्मकताको गहिराइमा पुग्न नसकिने धारणा राख्नु भएको थियो ।ल
कार्यक्रम नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा आयोजित गरिएको थियो। आयोजक प्रगतिशील लेखक सङ्घ नेपाल वैचारिक विमर्श तथा परिसंवाद विभागले यस कार्यक्रमको संयोजन गरेको थियो।
विचार चौतारीले विगतदेखि नै प्रगतिशील विषयवस्तुमा बहस विमर्शमार्फत वैचारिक संवादलाई अघि बढाउँदै आएको छ। कार्यक्रमले सिर्जना र श्रमबीचको गहिरो अन्तर्सम्बन्धमाथि विचार–विमर्श गर्दै साहित्यिक क्षेत्रलाई जनमुखी दिशा दिन सक्ने अपेक्षा गरिएको छ।
कार्यक्रम प्रलेस केन्द्रीय अध्यक्ष डा. देवि दुलाल क्षेत्रिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रलेस उपाध्यक्ष तथा विभाग संयोजक समीर सिंंहले संचालन गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित सवैलाई प्रलेस उपाध्यक्ष डा. अमृत शर्माले स्वागत मन्तब्य मार्फत स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमर्णी हातमछालि लगायत विभन्न क्षेत्रका बौद्धिक ब्यक्तित्वहरुको उपस्तिथि रहेको थियो ।
