


काठमाडौं, साउन ४ — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका सांसदहरूले राष्ट्रियसभामा सहयात्रा दलहरूबीचको सहमति विपरीत संघीय निजामती विधेयकमा संशोधन दर्ता गराएकोप्रति गम्भीर आपत्ति जनाएका छन्।
आइतबार साँझ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन्, “गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मति विपरीत यसरी आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो।”
उनले नेपाली कांग्रेसले यस विषयमा एमालेसँग आधिकारिक धारणा माग गर्नुपर्ने उल्लेख गर्दै थपे, “साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुँदैन।”
पोस्टको अन्त्यमा उनले संकेतपूर्ण ढंगले लेखेका छन्, “कुलिङ प्रिरेड रहन्छ, रहन्छ र रहन्छ। कोही दुविधामा नपरे हुन्छ।”
डा. कोइरालाको यो टिप्पणी एमाले र सत्ता गठबन्धनबीचको हालको सम्बन्ध, विशेषतः विधेयकसम्बन्धी विवादका सन्दर्भमा महत्वपूर्ण रुपमा हेरिएको छ।
