Skip

News Portal

  • काठमाडौं महानगरपालिकाको २४ अर्ब ९० करोड बजेट पारित, पूर्वाधार र सामाजिक विकासलाई उच्च प्राथमिकता

    दोलागिरि संवाददाता२०८२ आषाढ २९
    ४६ पटक

    काठमाडौं, असार २९ – काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि २४ अर्ब ९० करोड ६३ लाख रुपैयाँको बजेट पारित गरेको छ। महानगरपालिकाको नगर सभाको १७ औं अधिवेशनको पहिलो बैठकमा उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी थिइन्।

    डंगोलले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि कुल २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको अनुमानित बजेट पेस गरिन्। सो बजेटमध्ये २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने जनाइएको छ।

    उपमेयर डंगोलका अनुसार महानगरले आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ संकलन गर्नेछ भने नेपाल सरकार तथा प्रदेश सरकारबाट ४ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ अनुदान प्राप्त हुने छ।

    बजेट विनियोजनको प्रमुख क्षेत्रहरू

    महानगरले आगामी वर्षका लागि विभिन्न क्षेत्रहरूमा बजेट विनियोजन यस प्रकार गरेको छ:

    • पूर्वाधार विकास: १२ अर्ब ८० करोड (५१%)
    • सामाजिक विकास: ५ अर्ब २ करोड (२०%)
    • सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र: ३ अर्ब १ करोड (१२%)
    • कार्यालय सञ्चालन तथा प्रशासन: ३ अर्ब ५१ करोड (१४%)
    • आर्थिक विकास: ७५ करोड ३४ लाख (३%)

    प्राथमिकतामा रहेका कार्यक्रमहरू

    डंगोलले अगामी वर्षका लागि निम्न क्षेत्रहरूलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिइन्:

    • फोहोरमैला व्यवस्थापनमा सुधार
    • विद्यालय शिक्षा प्रणालीमा गुणस्तरीय सुधार
    • सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूको क्षमता अभिवृद्धि
    • “एक वडा, एक उद्यम” कार्यक्रममार्फत रोजगारी र आय वृद्धि
    • ध्वनि प्रदूषण न्यूनीकरण र सार्वजनिक यातायातको व्यवस्थापन
    • ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक सम्पदाहरू (मठ, मन्दिर, पोखरी, हिटी, वहाः, वही, ननी) को संरक्षण र प्रवर्द्धन

    ढिलो प्रस्तुतिको क्षमा याचना

    बजेट प्रस्तुतिको क्रममा उपमेयर डंगोलले स्थानीय सरकार सञ्चालन ऐनमा तोकिएको समयसीमा भन्दा ढिलो बजेट प्रस्तुत गर्नु परेको स्वीकार गर्दै क्षमा याचना पनि गरिन्। उनले विगतका केही मनमुटाव र अविश्वासका घटनाहरू समाधान भई अहिले सबै एकढिक्का भएर अगाडि बढ्न तयार भएको उल्लेख गरिन्।

    “केही तिता–मिठा अनुभव भए, आरोप–प्रत्यारोप भए, तर सबै कुरा मन्थनपछि समाधान पनि भए। आज हामी एक भएर यहाँ उपस्थित भएका छौं,” उनले भनिन्, “समयमै बजेट नपेस गर्न सकेकोमा महानगरवासी तथा सरोकारवाला निकाय समक्ष क्षमा माग्दछु।

    काठमाडौं महानगरपालिकाले आर्थिक र सामाजिक पूर्वाधारमा बलियो लगानी गर्दै आगामी आर्थिक वर्षको लागि महत्वाकांक्षी योजना अघि सारेको छ। शिक्षा, स्वच्छता, रोजगार, ऐतिहासिक सम्पदा र सार्वजनिक सेवाहरूमा केन्द्रित बजेटले महानगरको समुन्नत विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

    प्रतिकृया दिनुहोस्