Skip

News Portal

  • भक्तपुर ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषित

    दोलागिरि संवाददाता२०८२ आषाढ २८
    ३४ पटक

    भक्तपुर, असार २८ – भक्तपुर जिल्लालाई आज एक विशेष समारोहबीच ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ को रूपमा घोषणा गरिएको छ। जिल्ला समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले औपचारिक रूपमा भक्तपुरलाई उक्त उपाधि प्रदान गरेका हुन्।

    यो घोषणासँगै बागमती प्रदेशका १० वटा जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषित भइसकेका छन्। कार्यक्रममा मन्त्री थापाले भक्तपुरलाई प्रमाणपत्र हस्तान्तरण गर्दै स्वास्थ्य सेवाको सुदृढीकरणमा सरकार प्रतिबद्ध रहेको बताए। उनका अनुसार भक्तपुर र हेटौंडा अस्पताललाई टेलिमेडिसिन हब बनाएर २४ घण्टा सेवा दिने योजना अघि बढाइएको छ।

    प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले खोप सुनिश्चिततालाई दीगो बनाउनु चुनौतीपूर्ण भए पनि आवश्यक सबै बालबालिकाले खोप प्राप्त गर्ने व्यवस्था मिलाइएको बताइन्। उनले खोप कार्यक्रमको प्रभावकारिताले बाल मृत्युदरमा ८० प्रतिशत कमी आएको उल्लेख गरिन्।

    जन्मेदेखि १५ महिनासम्म खोप लगाएका बालबालिकाको अध्ययन र १६ देखि २३ महिनासम्मको अनुगमनपछि भक्तपुरलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। यसअघि भक्तपुर, सूर्यविनायक, मध्यपुर थिमी र चाँगुनारायण नगरपालिकाहरूमा पूर्ण खोप सुनिश्चित घोषणा भइसकेको थियो।

    स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको यो घोषणाले भक्तपुरलाई देशकै नमूना जिल्लाको रूपमा स्थापित गरेको छ।

    प्रतिकृया दिनुहोस्