


काठमाडौं, २५ असार, २०८२
बागमती प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले मिर्गौला रोगीका लागि राहत हुनेगरी भक्तपुर अस्पतालसहित प्रदेशका विभिन्न १६ वटा अस्पतालमा डायलासिस मेसिन जडान गरेको छ।
सरकारी अस्पतालहरूमा सेवा लिने चाप दिनानुदिन बढ्दै जाँदा बिरामीहरूलाई निजी अस्पतालमा रु. २,५०० तिरेर डायलासिस सेवा लिनुपर्ने बाध्यता हटाउन मन्त्रालयले पहल गरेको हो।
स्वास्थ्य मन्त्री किरण थापाका अनुसार भक्तपुर अस्पतालमा पाँच वटा, धादिङ र सिन्धुली अस्पतालमा दुई–दुई, त्रिशूली र बकुलहर रत्ननगर अस्पतालमा दुई–दुई तथा हेटौँडा अस्पतालमा तीन वटा डायलासिस मेसिन जडान गरिएको छ।
“अब बिरामीले सेवा लिन राजधानी धाउनुपर्ने अवस्था कम हुनेछ,” मन्त्री थापाले भने, “आफ्नै जिल्लाको अस्पतालमै डायलासिस सेवा सहज रूपमा उपलब्ध हुनेछ।”
उनले प्रादेशिक अस्पतालहरूमा भविष्यमा आवश्यकतानुसार थप उपकरणहरू पनि उपलब्ध गराउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे।
भक्तपुर अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टले उपकरण प्राप्त भएसँगै अस्पतालले पाँच शय्याको डायलासिस सेवा तत्काल सुरु गर्ने जानकारी दिए।
“हामीले सेवा छिट्टै संचालन गर्दैछौँ, जसले भक्तपुर र वरपरका बिरामीलाई निकै सहजता मिल्नेछ,” डा. भट्टले बताए।
यस पहलसँगै मिर्गौला पीडितहरूलाई सेवा पहुँचमा आएको सहजता र उपचारको भरपर्दो विकल्पको रूपमा सरकारी अस्पतालप्रतिको विश्वास बढ्ने अपेक्षा गरिएको छ ।
