Skip

News Portal

  • चाँगुनारायण नगरपालिकाद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान

    दोलागिरि संवाददाता२०८२ आषाढ २४
    ३४ पटक

    चाँगुनारायण, भक्तपुर । चाँगुनारायण नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा शतप्रतिशत नतिजा दिने विद्यालयहरूलाई विशेष सम्मान प्रदान गरेको छ।

    मंगलबार आयोजित एक भव्य समारोहमा नगर प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यमा ३.६ देखि ४ जिपीए ल्याउने सामुदायिक तथा संस्थागत गरी कुल २०५ जना विद्यार्थीलाई खादा, माला र प्रमाणपत्र सहित सम्मान गरिएको हो।

    उक्त अवसरमा सामुदायिक विद्यालयतर्फ सबैभन्दा उत्कृष्ट नतिजा ल्याउँदै ४ जिपीए हासिल गर्न सफल महेन्द्रग्राम माविकी गोमा श्रेष्ठलाई विशेष नगद पुरस्कार रु २५,००० सहित सम्मान गरियो।

    चाँगुनारायण नगरपालिकाभित्रका सामुदायिक ३ र संस्थागत १० वटा विद्यालयहरूले एसईई २०८१ मा शतप्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएका थिए। यस्तै, सामुदायिक विद्यालयतर्फ ३७ जना र संस्थागत विद्यालयतर्फ १६८ जना विद्यार्थीले ३.६ देखि ४ जिपीए बीचको अंक प्राप्त गरेका थिए।

    कार्यक्रममा बोल्दै नगर प्रमुख खत्रीले शिक्षामा गुणस्तर वृद्धिको लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षालाई नगरको प्राथमिकतामा राख्दै आगामी दिनहरूमा अझ प्रभावकारी शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    उक्त सम्मान कार्यक्रम नगर शिक्षा शाखाको संयोजनमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालयका प्रध्यानाध्यापक, जनप्रतिनिधि तथा नगर कर्मचारीहरूको बाक्लो उपस्थिति थियो।

    नगरपालिकाले यस किसिमको सम्मान कार्यक्रमले विद्यार्थीहरूमा थप प्रेरणा जागृत गराउने विश्वास लिएको छ।

     

    प्रतिकृया दिनुहोस्