


भक्तपुर, कौशल्टार ।
निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) सूर्यविनायक नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लाभरिका उत्कृष्ट विद्यार्थीहरूलाई एक विशेष कार्यक्रममा सम्मान गरिएको छ। शनिबार सम्पन्न सो कार्यक्रममा माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ४.०० जिपीए प्राप्त गर्ने तथा विद्यालय स्तरमा उत्कृष्ट नतिजा ल्याउने १३५ जना विद्यार्थीहरूलाई खादा, माला र प्रमाणपत्रसहित सम्मान गरिएको हो।
कार्यक्रमको प्रमुख आतिथ्य नगर प्रमुख बासुदेव थापाले १८ वटा विद्यालयहरूबाट ४.०० जिपीए हासिल गरेका ३० जना र विद्यालयमै उत्कृष्ट अंक ल्याएका थप १०५ जना विद्यार्थीलाई सम्मान गर्नुभयो।
सम्बोधनका क्रममा प्रमुख अतिथि थापाले सफल विद्यार्थीहरूलाई बधाई र शुभकामना दिँदै, उनीहरूको सफलताको श्रेय विद्यालय, शिक्षक र अभिभावकलाई पनि जानुपर्ने बताउनुभयो। उहाँले सामुदायिक र संस्थागत विद्यालयहरूलाई बराबरीको व्यवहार गर्दै शिक्षा क्षेत्रमा गुणस्तरीय सुधारका लागि नगरपालिका कटिबद्ध रहेको स्पष्ट पार्नुभयो। साथै, आगामी दिनमा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगदसहित थप सम्मान गरिने जानकारी पनि दिनुभयो।
कार्यक्रममा सूर्यविनायक सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रविन्द्र सापकोटाले विद्यालयहरूको निरन्तर प्रगतिको प्रशंसा गर्दै विद्यार्थी, शिक्षक र अभिभावकको भूमिकालाई महत्वपूर्ण ठहर गर्नुभयो। उहाँले सामुदायिक विद्यालयहरूमा समेत नतिजामा उल्लेखनीय सुधार देखिएको उल्लेख गर्नुभयो।
प्याब्सन सूर्यविनायकका अध्यक्ष विनोद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सनका विभिन्न तहका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा नवनिर्वाचित प्याब्सन सदस्यहरूलाई समेत सम्मान गरिनुका साथै, शिक्षाको स्तरवृद्धिमा संस्थागत साझेदारीको भूमिकाबारे मन्तव्य प्रस्तुत गरिएको थियो।